मुगुका गाउँभरि अन्न पिस्ने मुसल

काँक्रेविहार (सुर्खेत), २० वैशाख : मुगुको छायाँनाथ रारा नगरपालिका–११ का विमी बुढा खेतबारीमा उत्पादन भएको सबै अन्न गाउँको बीच भागमा रहेको ओखलमा राखेर मुसलको सहाराले कुटानी, पिसानीको काम गर्दै आउनुभएको छ । उहाँको यो रहर नभई बाध्यता हो । उहाँमात्र होइन, उहाँका सबै पुस्ताले यही परम्परागत औजारको सहायताले कुटानी पिसानीको काम गर्दै आएका छन् ।

दुई हात र एक खुट्टाको सहाराले अन्न ओखलभित्र घुसाउँदै अर्को खुट्टाले बल लगाएर मुसलद्वारा अन्नपात कुटानी, पिसानीको काम हुने गर्दछ । गाउँगाउँमा विद्युत्का तार पुगेका छन्, तर विद्युत बल्दैन । देखाउनका लागि मात्र दुई वर्षदेखि पोल बाटोभरि ठड्याएर राखिएको स्थानीयवासीको आरोप छ । विद्युत पुगेपछि यहाँका स्थानीयवासी विद्युतीय मिलको सहारामा अन्नपात कुटानी, पिसानी गर्ने ठूलो धोको रहेको स्थानीय शिक्षक पदम कुमाइले बताउनुभयो । अहिले रोवा गाउँको बीचमा रहेको परम्परागत घरको बीचमा धेरै समयअघिदेखि तीनवटा ओखलबाट स्थानीयवासीले कुटानीको काम गर्दै आएको उहाँले बताउनुभयो ।

गाउँमा पानीबाट सञ्चालन हुने घट्ट नभएका कारण अर्को समस्या आएको उहाँको भनाइ छ । गाउँमा सडक पुगेको छ, तर यातायातका साधन गुड्दैनन् । केही हुनेखानेले सदरमुकामबाट चामल ल्याएर दैनिक भान्सा चलाउँदै आएका छन् भने अधिकांश सर्वसाधारण ओखलमा मुसलको सहाराले पाखेधान (पाखो जमिनमा लगाउने), कोदो, गहुँ, मकै कुटानी पिसानी गरेर भान्सा चलाउँदै आएको उहाँले जानकारी दिनुभयो । रोवामात्र होइन, यस क्षेत्रका अधिकांश गाउँमा मुसलकै सहायताले ओखलमा खाद्यान्न राखेर पिसानी, कुटानीको काम गर्दै आएको अर्का स्थानीय शिक्षक रत्ति कुमाइले जानकारी दिनुभयो ।

महिला तथा पुरुषले दैनिक ओखलमा अन्न कुटानी र पिसानीको काम गर्दा निकै व्यस्त हुने गरेको उहाँको भनाइ छ । ओखलमा अन्न कुटानी पिसानीको काम गर्दा आफूहरू निकै दुःखमा परेको रुवाकी पानमती महतराले बताउनुभयो । “पुरुषभन्दा बढी महिलाले दुःख पाउनुपर्छ, हातको सहाराले कुट्दाकुट्दा हातमा ठेला बसिसके, हाम्रा दुःख कसले हेर्ला ?” उहाँले सुनाउनुभयो । मुगुमा सदरमुकामसहित चार स्थानीय तह रहेका छन् । सबै गाउँमा मुसलकै सहारामा अन्न कुटानी पिसानीको काम हुने गरेको पत्रकार महासङ्घ मुगुका अध्यक्ष नृपेन्द्र मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “यो परम्परागत साधन पनि हो, यसबाट अन्न कुटानी पिसानी गर्दा स्वादिष्ट हुने गर्दछ । रैथाने बाली मुगुमा धेरै पाइने हुँदा सबै यहीँबाट कुटानी पिसानीको काम हुने गर्दछ ।”

तल्लो भागमा ढिकीको प्रयोग हुने भए पनि मुगुमा ओखल र मुसलकै प्रयोग बढी हुने गरेको उहाँले बताउनुभयो । कुटानी पिसानी गर्नका लागि आधुनिक मिल प्रयोगमा ल्याउनसके छिटोछरितो हुनुका साथै समयको बचत हुने प्रभात माध्यमिक विद्यालय रोवाकी शिक्षिका नन्दा शाहीको भनाइ छ । “मेरो घर जाजरकोट हो, तर हाम्रोमा यत्ति धेरै दुःख छैन । यहाँका महिलालाई धेरै दुःख रहेछ ।”

अनुदानका कार्यक्रम विभिन्न निकायबाट हुने गरे पनि त्यो अनुदानको रकम दूरदराजका बस्तीमा नपुगेको पाइएको उहाँको भनाइ छ । ग्रामीण जीवनस्तर निकै समस्यामूलक रहेको उहाँको बुझाइ छ । भर्खरै मात्र मोबाइल फोनको पहुँचमा आएको यहाँका गाउँमा इन्टरनेट सेवा अझै सबै ठाउँमा पुग्न सकेको छैन । सदरमुकाम रहेको छायाँनाथ रारा नगरपालिकाभित्र केही सजिलो भए पनि अन्य पालिकामा अझै सास्ती रहेको शाहीको भनाइ छ ।

बिहानदेखि बेलुकासम्म काम गर्दा पनि मुस्किलले खान पुग्ने ग्रामीण क्षेत्रको कामले यहाँका स्थानीयवासी हैरान भएको उहाँले उल्लेख गर्नुभयो । औषधोपचारका लागि भरपर्दो स्वास्थ्य संस्था नहुँदा अर्को समस्या यहाँका स्थानीयवासीको लागि फलामको चिउरा चपाएझैँ हो । घरायसी काममा महिला बढी खटिनुपर्दा यहाँका महिलाको जनजीवन हैरानीमा बित्ने गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments