व्यावसायिक तरकारी खेतीमा किसान

अत्तरिया (कैलाली), २१ वैशाख : कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले व्यावसायिक तरकारी खेतीमा जोड दिन थालेका हुन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–६ विजुलियाका किसान बुद्धिराम चौधरीले विगत १२ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने गरेको बताउनुभयो ।

“सुरु–सुुरुमा थोरै जग्गामा तरकारी खेती गरिन्थ्यो, पछिल्ला वर्षहरुमा मैले १२ कट्ठा जग्गामा व्यावसायिक तरकारीखेती गर्दै आएको छु”, उहाँले भन्नुभयो । उहाँका अनुसार वार्षिक रु छदेखि सात लाखसम्म आम्दानी हुन्छ । उहाँले खर्च कटाएर रु चार लाख बचत हुने गरेको बताउनुभयो ।

“नौ जनाको परिवार छ, अन्य आयस्रोत केही छैन, घरखर्च छोराछोरीको पढाइलेखाइ खर्च तरकारीखेतीबाट भएको आम्दानीले नै चल्छ”, चौधरीले भन्नुभयो, “आफूले पनि ताजा तरकारी खान पाइएको छ, नगद आम्दानी पनि हुन्छ, धान गहुँभन्दा तरकारी खेतीबाट राम्रो फाइदा हुने भएकाले यसमा जोड दिएको हुँ, तरकारीखेतीमा मेहनत भने बढी चाहिन्छ ।”

सोही ठाउँका स्थानीय किसान छेदालाल चौधरीले पनि लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले आठ कट्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएको बताउनुभयो ।

“मैले व्यावसायिकरुपमा तरकारी खेती गर्न लागेको १५ वर्ष भयो, त्योभन्दा पहिले पनि तरकारी खेती त गरिन्थ्यो, व्यावसायिकरुपमा गरिएको थिएन, अहिले मैले बाह्रैमास तरकारीखेती गर्छु”, उहाँले भन्नुभयो, “आम्दानी पनि राम्रै हुन्छ, बीउबिजन, मलखाद्यलगायतको खर्च कटाएर वार्षिक रु तीन लाखसम्म बचत हुन्छ ।”

तरकारी बेच्न पनि समस्या नहुने र धनगढीमा रहेको हाटबजारमा लगेर बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “छ जनाको परिवार छ, घरखर्च छोराछोरीको पढाइलेखाइ खर्च आरामले चल्छ, अप्ठ्यारो पर्दा ऋण खोज्नुपर्ने अवस्था आउँदैन्”, उहाँले भन्नुभयो, “तरकारी खेतीबाट परिवार राम्ररी पाल्न सकिन्छ भन्ने मेरो अनुभव छ ।”

त्यस्तै सोही वडाको शान्ति टोलका शेरुराम चौधरीले पनि विगत लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको बताउनुभयो । “मैले आठ कट्ठा जग्गामा तरकारी खेती गर्दै आएको छु, तरकारी खेतीबाट नगद आम्दानी हुन्छ, धान गहुँबाट आम्दानी कम हुन्छ, त्यसैले तरकारी खेती गर्ने गरेको छु, मैले आलु मात्रै वर्षको रु दुई लाखसम्म बिक्री गर्छु”, उहाँले भन्नुभयो, “तरकारी खेतीबाट खर्च कटाएर वार्षिक रु तीनदेखि चार लाखसम्म आम्दानी हुन्छ ।”

सिँचाइको राम्रो व्यवस्था हुनसके, बीउ, मलखाद्य समयमै पाउन सके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । “पाँच जनाको परिवार छ, छोराछोरीको पढाइलेखाइ, घर खर्च यसैबाट चल्छ, मेरो आम्दानीको स्रोत भनेको यही हो, यसबाट म सन्तुष्ट छु”, उहाँले भन्नुभयो । यहाँका धेरैजसो किसानले व्यावसायिक तरकारी खेती गर्ने गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?