दूध बिक्रीबाट वार्षिक २१ लाख भन्दा बढी आम्दानी गर्दै पाण्डे

तम्घास (गुल्मी), २२ वैशाख : गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२ वर्ष विदेश बस्नुभयो । विदेश (दुवई)मा उहाँले होटलमा काम गर्नुहुन्थ्यो । उहाँ एकपटक घर आएको बेला फेरि विदेश जान मन लागेन । अन्ततः उहाँले २०७० सालदेखि व्यावसायिक गाईपालन सुरु गर्नुभयो ।

सिद्धबाबा गौशला तथा कृषि फर्ममा १० गाईबाट व्यवसाय सुरु गर्नुभएका पाण्डेको गोठमा अहिले १५ माऊ गाई छन् । त्यसबाहेक साना बाच्छीहरु पनि छन् । गाईबाट पाण्डेले दैनिक न्यूनतम ८० लिटर दूध उत्पादन गर्नुहुन्छ । प्रतिलिटर रु ७५ मा तम्घासमा उक्त दूध बिक्री गर्नुहुन्छ ।

“दैनिक ६ हजारको दूध बिक्री हुन्छ । मासिक रु एक लाख ८० हजार वार्षिक रु २१ लाख ६० हजारभन्दा बढी आम्दानी हुन्छ,” पाण्डेले भन्नुभयो, “दूध बिक्रीबाट आम्दानीसँगै सन्तुष्टि पनि मिलेको छ ।” विदेशको काममा स्वतन्त्रता नहुने भन्दै उहाँले विदेशको काम र स्वदेशको कर्ममा तुलना गर्न नसकिने बताउनुभयो । पाण्डेसँग अहिले जर्सी, होलिस्टाइनलगायत जातका गाई छन् । “बिहान साढे ४ बजे उठेर गाईको स्याहारसुसारमा लाग्छु,” उहाँले भन्नुभयो, “एकचित्त भएर काममा लागे सफल भइन्छ ।”

धुर्कोट गाउँपालिका–६ का मेघनाथ अर्यालले कोभिड–१९ भन्दा अगाडि बुटबलमा व्यवसाय गर्नुहुन्थ्यो । विसं २०७७ मा कोरोनाले उहाँलाई घर फर्कायो । बच्चाबच्चीको पढाइ पनि बन्द भयो । कोभिडले केही समय बुटबल फर्किने स्थिति भएन । केही समयका लागि गाउँ आएका अर्याल पुनः बुटबल नफर्किने गरी भैँसी व्यवसायमा लाग्नुभयो । २०७७ सालबाटै ‘अर्याल पुशपक्षी फर्म’ बाट भँैसीपालन व्यवसायमा लाग्नुभएका अर्यालको गोठमा अहिले २२ वटा माऊ भैँसी छन् । त्योबाहेक साना पाडापाडी गरेर ३० वटाभन्दा धेरै छन् ।

“प्रतिलिटर सय रुपैयाँमा दैनिक ८० लिटर दूध घरबाटै बिक्री भइरहेको छ,” अर्यालले भन्नुभयो, “गाउँका १० जनालाई रोजगार पनि दिएको छु ।” उहाँले एउटा याममा एक सय ५० लिटरसम्म दूध बिक्री गरेको बताउनुभयो । व्यवसाय सुरु गर्दाको वर्ष बाहिरी वातावरण नबुझेर घाटामा गए पनि अहिले फर्मको स्थिति सुधारजनक रहेकाले भैँसीपालन व्यवसायमा सन्तुष्टि मिलेको छ । अर्यालले गत वर्ष भेटेरिनरी कार्यालयले रु पाँच लाखको कार्यक्रम दिएर सहयोग गरेको बताउनुभयो । सुरुमा गाउँमै भैँसीपालन व्यवसाय गर्छुभन्दा नपत्याउने गाउँलेहरु अहिले आफ्नो कर्म देखेर दङ्ग परेका अर्यालको भनाइ छ ।

अर्यालले भैँसीपालन व्यवसायका साथसाथै व्यावसायिक मकै र धानखेती पनि गर्नुभएको छ यसका लागि मालिका गाउँपालिका–६ मा वार्षिक रु १८ लाख तिर्नेगरी जग्गा भाडामा लिनुभएको छ । तर गाउँमा कामदार नपाइने समस्या भएको अर्याल बताउनुहुन्छ ।

पाण्डे र अर्याल मात्र होइन, धुर्कोट गाउँपालिका–५ वस्तुका रवीन्द्र घिमिरे पनि दूध उत्पादनमै व्यस्त हुनुहुन्छ । बिहानदेखि बेलुकासम्म उहाँको समय गाई÷भैँसीको स्याहार, दूध दुहुने, व्याकेटिङ गर्ने र बजार पठाउनेमा बित्छ । “अहिलेसम्म रु एक करोड छ लाख लगानी लगाएको छु, यसबाट ३० गाई÷भैँसी अट्ने गोठ बनाएको छु । ३० गाई÷भैँसी पनि किनेको छु,” घिमिरेले भन्नुभयो, “भैँसीपालन व्यवसायबाट म र मेरो परिवार सन्तुष्ट छ ।”

घिमिरेले दैनिक ७० भन्दा बढी लिटर दूध बिक्री गरिरहेको बताउनुभयो । उहाँले २०६२ सालमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातकोत्तर गर्नुभएको हो । सानैदेखि आफू पनि स्वरोजगार बन्ने र अरूलाई पनि स्वरोजगार बनाउने आफ्नो लक्ष्य भएको घिमिरे बताउनुहुन्छ । कोरोना महामारीपछि गाउँ आएर व्यवसाय सुरु गर्दा घरमा र गाउँमा कसैले नपत्याएको उहाँ बताउनुहुन्छ ।

“सुरुमा त कसैले पत्याएनन् तर निरन्तर गर्दै गए,” घिमिरेले भन्नुभयो, “अहिले व्यावसायिक कृषक बन्न पाउँदा खुसी लागेको छ ।” माथिल्लो तह अध्ययन गरेर विदेश नै जानुपर्छ भन्ने धारणा गलत साबित गराउन आफू लागिपरेको उहाँले बताउनुभयो । हिमालय माविबाट एसएलसी दिएपछि उच्च शिक्षा अध्ययन गर्न गाउँ छोडेको २२ वर्षपछि घिमिरे फेरि गाउँ फर्किएर व्यावसायिक भैँसीपालनमा लाग्नुभएको हो । राज्यले कृषि क्षेत्रलाई अगाडि बढाउन अनुदानको सट्टा सरल कृषि कर्जाको व्यवस्था गर्नुपर्ने घिमिरेको भनाइ छ । लम्पी स्किन रोगबाट धेरै गाई÷भैँसी गुमाए पन क्षतिपूर्ति नपाएको उहाँको गुनासो छ ।

गुल्मीमा पाण्डे, अर्याल र घिमिरे त व्यावसायिक दुग्ध उत्पादनमा लागेका केही प्रतिनिधिमूलक कृषक मात्रै हुनुहुन्छ । बजारको कुनै समस्या नहुने र दूधबाट विभिन्न थरीका परिकार समेत बनाएर बिक्री गर्न सकिने भएपछि जिल्लाका किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएका छन् । अधिकांश दूध सम्बन्धित स्थानीय बजारमै खपत हुने गरेको छ । त्यसका अलवा तम्घास, रिडी, सत्यवतीको जुहाङ्ग, रुरुक्षेत्रको बलेटक्सार, मुसिकोटको वामिटक्सार जस्ता ठाउँमा दूध बढी खपत हुँदै आएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख हुमाकान्त पाण्डेले गुल्मीको दुई लाख ६० हजार जनसङ्ख्यालाई वार्षिक ९० लिटरका दरले पिउन पुग्नेगरी दूध उत्पादन भएको बताउनुभयो । जिल्लामा दूध उत्पादन वृद्धि गर्न भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रले अगुवा किसानलाई तालिम दिएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments