समयमा पानी नपर्दा अदुवा उत्पादक कृषक मारमा

अदुवाखेती

तनहुँ, २४ वैशाख : समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा लगाई सकिने भए पनि यस पटक पानी नपर्दा अदुवा लगाउन नसकिएको देवघाट–३ छिपछिपेका अदुवा उत्पादक कृषक रामबहादुर थापामगरले जानकारी दिनुभयो । अदुवा बिक्रीबाट गत वर्ष मात्रै करिब रु दुई लाख हाता पारे पनि यस पटक समयमा नै पानी नपर्दा चिन्ता थपिएको थापामगरको भनाइ छ ।

“समयमा पानी नपर्दा अहिलेसम्म अदुवा लगाउन पाइएन”, थापामगरले भन्नुभयो, “समय घर्किएपछि लगाएको अदुवाले उत्पादन दिँदैन । त्यसैले हामी कृषक चिन्तामा छौँ ।” आफूहरुको गाउँका करिब २० घरका मानिसले गत वर्ष अदुवा बिक्री गरेर प्रतिपरिवार रु ५० हजारदेखि दुई लाखसम्म हात पारे पनि यस पटक मकै गोड्ने बेलासम्म पानी नपर्दा चिन्ता थपिएको थापामगरको दुखेसो छ ।

अदुवा उत्पादनको लागि देवघाट, ऋषिङ, घिरिङ र भिमाद गाउँपालिकालाई पकेट क्षेत्र मानिन्छ । तनहुँमा उत्पादित अदुवाको बजार भारत हो । अदुवाको सुठो र गाठो किन्न भारतीय व्यापारी घरमै आउने भएकोले पनि आफूहरु अदुवा खेतीतर्फ आकर्षित भएको छिपछिपेका अर्का कृषक इन्द्रबहादुर रानाले बताउनुभयो । भारतीय व्यापारीले तनहुँ र नवलपरासीको पहाडी क्षेत्रबाट सङ्कलित अदुवा नवलपुरको दलदलेमा सङ्कलन डिपो राख्ने र त्यहाँबाट ट्रकमा भारत लैजाने गर्छन् । गत वर्ष प्रतिकिलोग्रामको करिब रु ७० देखि ८० मा अदुवा र बीउको करिब रु सयमा बिक्री गरेकोमा यस पटक पानी नपर्दा रोप्न नपाएको रानाको भनाइ छ ।

आर्थिक वर्ष २०७९÷२०८० मा जिल्लामा पाँच सय २२ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकोमा पाँच हजार छ सय ५४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि प्रसार अधिकृत गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । केन्द्रले अदुवा उत्पादक कृषक समूह र सहकारीलाई बीउ खरिदमा ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरे पनि पानी नपर्दा अदुवा रोप्ने कार्यक्रम प्रभावित भएको वरिष्ठ कृषि प्रसार अधिकृत लामिछानेले बताउनुभयो ।

“समयमा पानी नपर्दा अदुवा उत्पादक कृषक प्रत्यक्ष मारमा परेका छन्”, वरिष्ठ कृषि प्रसार अधिकृत लामिछानेले भन्नुभयो, “केही दिन पानी नपरे खडेरीले अदुवा र मकै दुवै खेतीलाई असर पार्ने आंकलन गरेका छौँ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?