सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन

झापा, १ जेठः झापाको डिभिजन वन कार्यालयका दुई वटा कोठामा रक्तचन्दन थन्किएको सत्र वर्ष भयो । विसं २०६३ र २०६४ मा भारतबाट तस्करी हुँदै टाघनडुब्बालगायतका सीमावर्ती क्षेत्रबाट बरामद भएका १९ हजार आठ सय ३२ केजी रक्तचन्दन त्यसयता यहाँस्थित वन कार्यालयमा थन्किएका छन् ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले भण्डारणमा रहेको रक्तचन्दनलाई चौबिसैघण्टा पहरा दिएर सुरक्षित राखिएको बताउनुभयो । “खुला ठाउँमा राख्दा हराउने जोखिम रहने भएकाले कार्यालयको कोठामै भण्डारण गरिएको रहेछ”, उहाँले भन्नुभयो, “पालोपालो गरेर कोठा बाहिर वन रक्षकले अटुट पहरा दिइरहेका छन् ।” रक्तचन्दन भारतबाट तस्करी गरेर चीन लैजाने क्रममा विभिन्न जिल्लामा बरामद भएको थियो ।

काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सप्तरी, सर्लाही, नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायत २० जिल्लामा यसलाई भण्डारण गरी सुरक्षाका साथ राखिएको छ । सबैभन्दा बढी रक्तचन्दन भण्डारण गरिएको काठमाडौँस्थित वन विभाग परिसरमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी खटिने गरेका छन् ।

दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस)को प्रावधान अनुसार सङ्कटापन्न वनस्पतिको रुपमा सूचीकृत रक्तचन्दन तस्करी भएर जुन देशमा पुगे पनि सम्बन्धित देशमा फिर्ता गर्नुपर्ने व्यवस्था छ । महासन्धिको प्रावधान बमोजिम नेपाल सरकारले बरामद रक्तचन्दनको बिक्री–वितरण गर्न नपाउने र उत्पत्ति भएको देशलाई नै फिर्ता गर्नुपर्ने डिभिजन वन कार्यालय झापाका प्रमुख राईले बताउनुभयो ।

नेपाल सरकारले बरामद भई मुलुकभित्र भण्डारण गरिएको रक्तचन्दन भारतलाई फिर्ता पठाउने सरकरले हालै निर्णय गरेको जनाउँदै उहाँले झापामा रहेको रक्तचन्दन फिर्ता हुनेमा विश्वास गर्नुभयो ।

रक्तचन्दन औषधि र धार्मिक कार्यमा प्रयोग हुने रातो रङको सुगन्धित काठ हो । दक्षिण भारतको आन्ध्र प्रदेश, कणौटक र तामिलनाडुका घना जङ्गलमा रक्तचन्दन पाइन्छ ।
विसं २०६३ मा नेपालमा तस्करीको माध्यमबाट भित्रिएको रक्तचन्दन झापा, रसुवालगायतका जिल्लामा बरामद भएको थियो । नेपालले विभिन्न अवधिमा दुई लाख ४७ हजार ४८ किलो रक्तचन्दन बरामद गरेको वन विभागको भनाइ छ ।

जसमध्ये एक लाख ७३ हजार ७१ केजी रक्तचन्दन नेपालले २० जिल्लामा भण्डारण गरेर राखेको छ । नेपाल सरकारले विसं २०६५, २०७१ र २०८१ गरी तीन पटक औपचारिक निर्णय गरी भारतलाई रक्तचन्दन फिर्ता लगिदिन आग्रह गरिसकेको छ । विसं २०६५ सालमा भारत सरकारले ३६ हजार नौ सय २८ केजी रक्तचन्दन फिर्ता लगेको थियो ।
गत वैशाख २७ गते मन्त्रिपरिषद् बैठकले झापालगायतका जिल्लामा रहेका सबै एक लाख ७३ हजार ७१ केजी रक्तचन्दन फिर्ता पठाउने निर्णय गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?