बढ्दो बजार मोहले गाउँ रित्तिँदै

ढोरपाटन (बागलुङ), १ जेठ : निसी, भुजी र तमानखोलाको सङ्गमस्थल हो बुर्तिबाङ बजार । बागलुङको दोस्रो ठूलो व्यापारीक केन्द्रका रुपमा रहेको बुर्तिबाङ एक दशक अगाडिसम्म शान्ति थियो । सीमित घर, जनघनत्व पनि कम छ । विकासका हिसाबले अलि पछाडि नै थियो । तर पछिल्लो समय बुर्तिबाङ बजारको स्वरुपनै बदलिएको छ । पहिलेको जस्तो शान्त र व्यवस्थित पनि छैन बुर्तिबाङ । कोलाहाल र जनघनत्व बढेको छ । किनमेल र घुमफिरका लागि गाउँबाट झर्ने मानिसको लर्को लाग्थ्यो । तर अहिले त्यो अवस्था फेरिएको छ ।

बसाइँसराइले गाउँ रित्तिन थालेपछि अचेल बजारबाट घुम्न गाउँ जानेको सङ्ख्या बढेको छ । गाउँमा विकास नभएकोे भने होइन । गाउँलेको बजार मोहले गाउँ रित्तिन थालेको हो । पहिले गाउँमा सडक पुगेका थिएनन् । खानेपानीको सुविधा थिएन । गाउँमा चहलपहल हुन्थ्यो । अहिले घरको आँगनमै सडक पुगेको छ । आँगन छेउमै पानीका धारा निर्माण गरिएका छन् । तर त्यसको उपभोग गर्नेहरु भने बजार झरेका छन् । चिटिक्कका घर मक्किएर जीर्ण बन्दै छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् भने पशुचौपाया चर्ने वनजङ्गल बाक्लिएर डर लाग्दा बनेका छन् ।

पहिले बागलुङका अधिकांश नागरिक पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरुमा बजार मोह त्यत्ति थिएन । जिल्लाका सीमित ठाउँमा स–साना बजार थिए । त्यस बेला साना बजार रहेका ठाउँ अहिले सहरीकरण हुँदै गएका छन् । मध्यपहाडी लोकमार्गले जोडिएका ठाउँमा नयाँ बजार बन्दै गएका छन् ।्

डेढदशक पहिले जिल्ला सदरमुकाम बागलुङसति गलकोट र बुर्तिबाङ बजारका रुपमा थिए । ग्रामीण भेगबाट लोकमार्ग छेउछाउमा झरेर बस्न थालेपछि धेरै ठाउँ बजारमा परिणत हुँदै छन् । अहिले दिन प्रतिदिन गाउँ छोडेर बजार झर्नेको लर्को नै लागेको छ । गाउँको कुना कन्दरासम्म सडकले जोडिए पनि स्थानीयको बजार मोहले गाउँ उजाड बन्न थालेका छन् ।

अहिले लोकमार्गमा पर्ने काठेखोलाको अक्षते, बडिगाडको हाँडीखोला, खर्बाङ, खार, खौलारा, निसीखोलाको निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला लगायतका ठाउँमा बजार बस्दै छ । बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरा लगायतका ठाउँ पनि बजार बन्दै गएका छन् । गाउँलेको बजार मोहले ग्रामीण क्षेत्र सुनसान बन्दै गएको गलकोट नगरपालिका–५ का वीरबहादुर खत्रीले बताउनुभयो । आर्थिक अवस्था मजबुद भएका काठमाडौँ, पोखरा, चितवन, भैरहवा र बागलुङमा बसाइँसराइ गर्ने क्रम बढेको बताउनुभयो ।

बसाइँसराइ गर्दा गाउँघर सुनसान छन् । पहिले निकै चहलपहल हुने गाउँ अहिले उराठलाग्दो भएको खत्री बताउनुहुन्छ । बसाइँसराइको मुख्य कारण गलकोट क्षेत्रबाट अधिकांश नागरिक जापान, दक्षिण कोरियालगायत मुलुक गएको र सहरमा सम्पत्ति जोडर उतै बसाइँसराइ गर्नु रहेको उहाँले बताउनुभयो ।

खत्रीले भन्नुभयो – “१२÷१५ वर्ष अगाडि गाउँ कति रमाइलो थियो, वरपर छरछिमेकीहुन्थे, मेलापात गर्ने, अर्मपर्म गरेर काम गर्ने गरिन्थ्यो, अहिले गाउँमा कसैलाई गाह्रो परेर गुहार माग्नु पर्दा कोही भेट्टिँदैनन्, अहिले गाउँमा कोही छैन, पहिले विदेश गएर आएर गाउँमै घर जग्गा जोड्ने चलन थियो, अहिले जो गाउँबाट विदेश जान्छ, उ आयो भने परिवारलाई लिएर बजारमै झर्छ, अब यसरी बजार रोज्न थालेकाले गाउँ पूरै रित्तिने अवस्था छ ।”

ढोरपाटन नगरपालिका–१ का मनबहादुर पुनले बुर्तिबाङ बजारमा हरेक वर्ष घर बन्ने क्रम बढिरहेको बताउनुभयो । पन्ध्र वर्ष अगाडि बुर्तिबाङ बसपार्क वरपर र उपल्लो बजारमा मात्रै घरहरु रहेकोमा अहिले घरैघरले खाली ठाउँ नरहेको उहाँको भनाइ छ । बसाइँसराइले गाउँ रित्तिने र बजार भरिने हुँदा उत्पादनमासमेत कमी आउने उहाँ बताउनुहुन्छ । आफू पनि गाउँबाटै बसाइँसराइ गरेर आएको भन्दै बजारमा घर बन्ने ठाउँ सकिएपछि खोला बगर क्षेत्र पनि अतिक्रमणमा परेका पुन बताउनुहुन्छ ।

“अहिले त गाउँमा पनि धेरै विकास भएको छ, आजभन्दा १२ वर्ष अगाडिसम्म गाउँमा मोटरबाटो पुगेको थिएन, मान्छेहरुले भारी भोकेर दैनिक उपभोग्य सामान घरमा पु¥याउनुपथ्र्यो, घण्टौँ लाइन बसेर एक गाग्री पानी भर्नुपर्ने अवस्था थियो, र पनि मान्छेहरु धेरै थिए गाउँमा,” पुनले भन्नुभयो– “तर अहिले घरघरमा धारा बनेका छन्, घरै अगाडि गाडी गुड्ने सडक छ, पहिलेको जस्तो भारी बोक्नुपर्ने अवस्था छैन र पनि कोही गाउँमा बस्दैनन् ।”

पहिले गाउँमा सामान्य सुविधा नहुँदा स्थानीय बाध्यताले बजार झर्ने गरेको भन्दै अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने संस्कृति बन्दै गएको तमानखोला गाउँपालिका–५ का निमबहादुर सिर्पालीले बताउनुभयो । बसाइँसराइँ रोक्न सरकारले विकाससँगै नागरिकलाई आय आर्जनसँग जोड्ने र रोजगारको अवसर दिनुपर्ने उहाँको भनाइ छ । उत्पादनका हिसाबले गाउँ धेरै उर्वर रहेको भन्दै कृषि र पशुपालनमा आधुनिकीकरण गर्न सके बसाइँसराइ रोख्न सकिने सिर्पाली बताउनुहुन्छ ।

सिर्पालीले भन्नुभयो– “सहर बजारमाभन्दा गाउँमा धेरै सम्भावना छ, मानव जातिलाई चाहिने हरेक वस्तु गाउँमा उत्पादन हुन्छ, तर अहिले आयातित सामान बढी प्रयोग हुनाले सहरतर्फ आकर्षण बढेको हो, राज्यले गाउँका पाखापखेरालाई उत्पादनसँग जोड्ने, गाउँलेलाई रोजगार दिन सके, बसाइँसराइ रोकिन्छ, विकासका हिसाबले सडक, विद्युत्, स्वास्थ्य, शिक्षालगायत अरु विकास पुगेको छ, यसलाई गुणस्तरीय बनाउन सके गाउँ रित्तिने क्रम रोकिने छ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?