किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

वालिङ (स्याङ्जा), ४ जेठ : किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत भिरकोट–९ का किसानलाई घार वितरण गरिएको हो । मौरीपालनका दृष्टिले प्रशस्त वनजङ्गल र चरन क्षेत्र भएकाले पनि मौरीपालन फस्टाउन सक्ने भएकाले वडाका किसानलाई घार वितरण गरी अभियान थालिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।

“मौरीपालनका दृष्टिले प्रचुर सम्भावना देखिएकाले अहिले वडा नं ९ मा मौरीका घार वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा यसलाई व्यावसायिकरुपमा अगाडि बढाउँदै आयआर्जनसँग जोड्ने र यहाँका नागरिकको आर्थिक समृद्धिमा सुधार ल्याउने उद्देश्य छ ।” मौरीपालन गर्दा मौरीको गोलासहितको घार तथा महको पनि माग उच्च भएकाले यहाँका नागरिकलाई मौरीपालनतर्फ जोड्दै लगिएको उहाँले बताउनुभयो ।

“पालिकाको योजना, नागरिकको चाहना र मागका आधारमा नागरिकलाई उद्यमी बनाउनका लागि निरन्तर लाग्छौँ”, उहाँले भन्नुभयो, “यसमा नागरिकको परिश्रम र कामप्रति लगनशीलता हुनु जरुरी छ ।” नगरपालिकाको ८० प्रतिशत अनुदान र किसानको २० प्रतिशत लागत साझेदारीमा गोलासहितका मौरी घार उपलब्ध गराइएको वडाध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो ।

रु नौ हजार मूल्य रहेको मौरीसहितको घारलाई किसानले रु एक हजार आठ सयमा प्राप्त गरेका हुन् । वडाका ३४ किसानलाई मौरीसहितको घार वितरण गरिएको हो । “कृषि कर्म गर्दै आएका यहाँका नागरिकको आर्थिकस्तर उकास्न उद्यमशीलतासँग जोड्नु जरुरी छ”, उहाँले भन्नुभयो, “नागरिकलाई उद्यमशीलतासँग जोड्नका लागि मौरीको प्रचुर सम्भावना भएकाले मौरीपालनलाई व्यावसायिकरुपमा अगाडि बढाउने निष्कर्षमा पुगेका हौँ ।”

मौरीपालन गर्नका लागि पाँचदिने आधारभूत ज्ञान सीप किसानलाई दिइएको छ । आगामी दिनमा मौरीपालनलाई व्यावसायिकतातर्फ अगाडि बढाउन र थप विस्तार गर्नका लागि वडा तथा पालिकाले निरन्तर सहयोग गर्ने उहाँले बताउनुभयो । “मौरीसहितका घार तथा शुद्ध महको माग बढ्दो क्रममा छ”, उहाँले भन्नुभयो, “यहाँका किसानले उत्पादन गरेका मौरी तथा मह बिक्री नभएमा वडाले बिक्रीका लागि आवश्यक पहल गर्नेछ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?