सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो

गण्डकी, ६ जेठ :

पोखरा महानगरपालिका–१६ अर्मलाका महिलाहरू सामूहिक कृषितर्फ आकर्षित भएका छन् ।

प्रगति कृषि समूह गठन गरी जग्गा भाडामा लिएर महिलाहरू सामूहिक कृषिखेतीमा लागेका हुन । समूहकी अध्यक्ष चिनमाया सुवेदी श्रेष्ठले दुई रोपनी जग्गामा मौसमअनुसार आलु, मुला, केराउ, काँक्रोलगायतका नगदेबाली गर्दै आएका र वर्षाको समयमा सोही जग्गामा परीक्षणकारूपमा विभिन्न छ जातका धान रोप्ने तयारी भइरहेको बताउनुभयो । “स्यालघारी फाँटको जग्गामा यतिखेर लटरम्म काँक्रा फलेका छन् । फागुन महिनामा लगाएका भक्तपुरे जातको काँक्राका एक सय ३२ वटा बिरुवाले उत्पादन दिन सुरू गरेका छन् । वैशाखको अन्तिम सातादेखि उत्पादन सुरू भएको काँक्रा बिक्रीबाट रु १५ हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छौँ”, अध्यक्ष सुवेदीले भन्नुभयो । हाल प्रतिकेजी ८० मा बारीबाटै काँक्रा बिक्री हुने गरेको छ ।

उहाँले समूहमा आवद्ध महिलाहरूले नै बारीबाट काँक्रा खरिद गरेर बजारमा बिक्री गरी राम्रो आम्दानी गरिरहेका बताउनुभयो । “उत्पादन भएका काँक्रा बिक्री हुँदैन की भनेर चिन्ता गर्नुपर्दैन समूहकै महिलाले प्रतिकेजी रु ८० का दरले बारीबाटै खरिद गरेर लानुहुन्छ” अध्यक्ष श्रेष्ठले भन्नुभयो,“सोही काँक्रो स्थानीय बजारमा बिक्री गरेर जीविकोपार्जनको आधार बनिरहेको छ ।”

विसं २०७४ मा कारितास नेपालको सहयोगमा स्थापना भएको किसान समूहमा हाल बीस जना सदस्य आवद्ध छन् । समूहकी सचिव सोनिया सुनारले प्रत्येक शनिबार घरको सबै काम पन्छ्याएर बारिको माटोमा पसिना चुहाउँदा राम्रो आम्दानी हुने गरेको बताउनुभयो । “संस्थामा आवद्ध सदस्य हप्ताको एक दिन बारिमा जम्मा हुन्छौँ, आवश्यक मल पनि घरबाटै बोकेर लैजाने गरेका छौँ” उहाँले भन्नुभयो,“कुनै पनि विषादि प्रयोग गरेका छैनौँ उत्पादित अर्गानिक काँक्रो बजारमा पठाउँन पाउँदा खुसी लागेको छ । यसले बेरोजगार भएर घरमै बस्दै आएका महिला हाल तरकारी उब्जायर आफूलाई आवश्यक पैसासमेत कमाउन थालेका छौँ ।”

सचिव सुनारका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिला सङ्गठित भएर कृषि गर्दै आएका छन् । उहाँहरूलाई बेलाबेला अघिल्लो वर्ष पोखरा महानगरले रु १० हजार आर्थिक सहयोगसमेत गरेको थियो । “आधुनिक कृषिऔजार, मल, बीउलगायत अत्यावश्यक सुविधा पाउने हो भने खेती विस्तार गर्दै जाने सोचमा छौँ । त्यसले हाम्रो आम्दाी वृद्धिमा पनि सहयोग पुग्थ्यो । हाल वार्षिक तीनदेखि चार लाखसम्म आम्दानी गर्दै आएको छौँ ।”

सामूहिक कृषिखेती सुरू भएपछि एकतिर समूहमा आवद्ध महिलाले घरमा मौसम अनुसारका तरकारी लिन पाएका छन्, अर्कोतिर सामूहिक खेती सिकाइको पाठशालासँगै आयआर्जनको माध्यम पनि बन्दै गएको छ । कोषाध्यक्ष चन्द्रा भट्टराईले समूहमा जम्मा भएको रकम आयआर्जनका लागि आवद्ध सदस्यलाई एक प्रतिशत व्याजमा लगानी गर्ने गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार समूहको कोषमा अहिले रु एक लाख ५० हजार रहेको छ भने एक वर्षअघि सङ्कलित रकमबाट प्रत्येक सदस्यलाई पाँच हजारका दरले वितरण गरिएको थियो । समूहले अध्ययन अवलोकन भ्रमण तथा रमाइलो वनभोजसमेत आयोजना गर्ने गरेको छ ।

रैथाने जातको धान संरक्षणमा समूह

सो समूह रैथाने जातको धान संरक्षण अभियानमा पनि जुटेको छ । काँक्रा लगाएको जग्गामा धानका जेठाबुढो, अनदी, कालो झिनुवा, वयर्नी, पहेँलेलगायतका जात रोप्ने तयारी भएको जनाइएको छ । त्यसका लागि पोखरा महानगरपालिकाले उपलव्ध गराएको बीउ रादिएको छ । समूहका प्रत्येक सदस्यले डोकोमा मल र हातमा खन्ने औजार लिएर बारिमा धानको बीउ राखेका र अब परीक्षणका रूपमा पहिलो पटक धान रोपाइ गर्ने तयारी भइरहेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले नेपाल सरकारले सूचीकृत गरेका खान नरम र स्वादिष्ट धानको जात संरक्षण गर्ने उद्देश्यका साथ विभिन्न पाँचवटा कृषि सेवा केन्द्रमार्पmत परीक्षणका लागि निःशुल्क बीउ प्रदान गरिएको जानकारी दिनुभयो । छोटो समयमा बढी उत्पादन हुने हाइब्रिड धानमा किसानको आकर्षण बढेपछि स्थानीय जातका धान लोप हुने अवस्थामा पुगेकाले स्थानीय जातको संरक्षणका लागि किसानलाई बीउ वितरण गरिएको उहाँले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?