डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम

ताप्लेजुङ, ६ जेठ : यहाँ जारी ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर कार्की प्रथम हुनुभएको छ ।

सदरमुकामदेखि सुकेटारस्थित सानो पाथीभरा मन्दिर पुगेर फर्किनुपर्ने करिब १४ किलोमिटरको निर्धारित दूरी एक घण्टा १५ मिनेटमा पार गर्दै कार्की प्रथम हुनुभएको आयोजक समितिले जनाएको छ ।

यस्तै पाँचथरको फिदिम नगरपालिका–१४ का विशाल राई एक घण्टा १९ मिनेटमा निर्धारित दूरी पार गर्दै द्वितीय हुनुभएको छ भने मिक्वाखोला गाउँपालिकाका–३ का मिङ्मा शेर्पा एक घण्टा २० मिनेटमा दूरी पार गरेर तृतीय हुनुभएको छ ।

चौथोदेखि क्रमशः दसौँसम्म फक्ताङ्लुङका सञ्चबहादुर शेर्पा, मिक्वाखोलाका फुर्वालाक्पा शेर्पा, मैवाखोलाका पाशाङ बाङ्गल शेर्पा, फुङ्लिङ नगरपालिकाका दिपेन्द्र सुजी, मैवाखोलाका लाक्पानुर्वु शेर्पा र मैवाखोलाकै आशकुमार लिम्बू रहेका छन् ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ भने चौथोदेखि दसौँसम्मका लागि जनही रु एक हजारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिले जनाएको छ ।

महोत्सवअन्तर्गत यसअघि दुना टपरी गाँस्ने, धुप बाट्ने, वक्तित्वकलालगायतका प्रतियोगिता सम्पन्न भएका छन् भने महोत्सवको अन्तिम दिन सोमबार पाथीभरा म्याराथन हुने आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?