इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ । चियाको राजधानीको नामले चिनिने इलाममा यही जेठ २६ देखि २८ सम्म चिया महोत्सव आयोजना हुन लागेको हो ।

नेपाली चियाको गुणस्तर विश्वमाझ पुर्‍याउन अन्तर्राष्ट्रिय चिया महोत्सव गर्न लागिएको इलाम नगपालिकाका प्रमुख केदार थापाले बताउनुभयो । उहाँले चिया उद्योगी, व्यवसायी किसान तथा अन्तर्राष्ट्रिय चिया पारखी र व्यवसायीलाई समेट्ने गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

“नेपालको चिया विश्वमा नै स्वादिष्ट र अग्र्यानिक मानिए पनि प्रचारप्रसार नहुँदा किसान तथा व्यापारीले कम मूल्यमा बिक्री गर्नुपरिरहेको गुनासो बढेपछि नगरपालिकाको अगुवाइमा चिया महोत्सव आयोजना गरेका हौँ”, नगरप्रमुख थापाले भन्नुभयो, “कृषिजन्य उत्पादन चियालाई विदेश निर्यात गर्न सके विदेशी मुद्रा आर्जन प्रमुख स्रोत बन्ने थियो ।” चियाको बजारीकरण गर्ने र किसानलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।

महोत्सवपछि इलामसहित नेपालमा उत्पादित चिया अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन र बजारीकरण गर्न सहजता हुने अपेक्षा गरिएको नगरप्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार महोत्सव इलाम बजारमा आयोजना गरिने छ ।

महोत्सव आयोजनाका लागि नगरप्रमुख थापाको संयोजकत्वमा समिति गठन भएको छ । इलाम उद्योग वाणिज्य सङ्घसँगको सहकार्य तथा नेपाल पर्यटन बोर्डको सहयोगमा महोत्सव सञ्चालन हुनेछ । महोत्सवमा चियासँग सम्बन्धित विभिन्न सङ्घसस्थाका साथै चिया किसान तथा व्यापारी सहभागी हुनेछन् ।

महोत्सवपछि चिया किसान, व्यापारी र विदेशी चिया व्यापारीबीचको दूरी कम हुँदै जाने र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)ले बताउनुभयो । उहाँका अनुसार इलाममा १९२० सालमा नै चिया रोपन सुरु भएको इतिहास छ ।

महोत्सवमा इलाममा उत्पादन हुने सबैखाले चियालाई समावेश गराइनेछ । विदेशी चिया पारखी तथा चिया व्यापारीले महोत्सवबाट चिया खरिद तथा बिक्री गर्नसक्ने आयोजकले जनाएको छ ।

इलाममा उत्पादन हुने चियालाई प्रदर्शनसँगै बिक्रीवितरण र प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएकामा यहाँका किसान उत्साहित भएका छन् । महोत्सवमा ‘चिया’ विषयमा छलफल एवं अन्तक्र्रियासमेत हुने नगरप्रमुख थापाले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?