विस्थापित हुने अवस्थामा केराखेती गर्ने किसान,सरकारले सहयोग नगरेको गुनासो

टीकापुर (कैलाली), १५ जेठ : कैलालीका किसानले केरामा देखिएको पानामा रोग नियन्त्रणमा सहयोग गर्न माग गरेका छन् ।

किसानले गत वर्ष कैलालीको टीकापुरका केही किसानको बारीमा देखिएको पानामा रोग नियन्त्रणमा सरकारले सहयोग नगरेको गुनासो गरेका छन् । टीकापुरमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले केरा बजार प्रवद्र्धनका लागि कृषक, व्यापारी तथा सरोकारवालासँग गरिएको छलफलमा किसानले यस्तो गुनासो गरेका हुन् ।

किसानले नेपालमा गत वर्ष पहिलोपटक केरामा पानामा (ओइलाउने) रोगको टिआर–४ प्रजाति भेटिएको हो । फ्युजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीका कारण केरामा लाग्ने रोग नै पानामाको टिआर–४ प्रजाति हो । विश्वका अन्य मुलुकमा समेत व्यापक रूपमा फैलिइरहेको यो रोगको जटिलता गहिरो भएकाले समयमै रोकथाम गर्न नसके नेपालमा व्यावसायिक खेती गरिरहेका केरा किसान डुब्ने उनीहरूको चिन्ता छ ।

यो रोग माटोमा बस्ने ढुसी भएका कारण सङ्क्रमित बिरुवा, माटो, पानी, कृषि औजारबाट समेत सर्न सक्ने भएकाले समयमै नियन्त्रण आवश्यक रहेको कृषिविज्ञको सुझाव छ । टिआर–४ प्रजाति कैलालीको टीकापुरका किसानको बारीमा देखिए पनि नियन्त्रणमा ध्यान नदिएको किसान टेकेन्द्र धामीले बताउनुभयो । “चारजना किसानको बारीमा पानामा रोग देखिएको भनिएको छ, तर क–कसको बारीमा देखियो भन्ने कुरा हामी किसानलाई पनि थाहा छैन”, धामीले भन्नुभयो, “गत वर्ष अवलोकन गरियो, त्यसपछि नियन्त्रणको काम भएको छैन, अब वर्षा भएपछि कति किसानको बारीमा यो रोग फैलिएको छ, थाहा हुनेछ ।”

गत वर्ष राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र र सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायको टोलीले साउन १० गते प्रभावित क्षेत्रका करिब आठ हजार केराका बोट अवलोकन गर्दा त्यसमध्ये करिब ४० प्रतिशतमा रोगको लक्षण देखिएको बताएको थियो । सुदूरपश्चिम विश्वविद्यालय कृषि सङ्काय टीकापुरका उपप्राध्यापक आशिष घिमिरे गर्मी भएकाले यो रोग धेरै नदेखिए पनि वर्षा भएमा फैलन सक्ने बताउनुहुन्छ ।

घिमिरेका अनुसार पानामा रोगको यो प्रजाति पहिलोपटक अस्ट्रेलियामा सन् १९९७ मा देखिएको थियो । त्यसबेला रोगको फैलावट रोक्न अस्ट्रेलियाले खेतमा भएका सबै बिरुवा नष्ट गर्नाका साथै प्रभावित क्षेत्रमा १५ वर्षसम्म प्रवेश निषेध गरेको थियो । त्यसको १८ वर्षपछि अस्ट्रेलियाकै क्विन्सल्यान्डमा यो रोग दोस्रो पटक देखियो । छिमेकी मुलुक चीन तथा भारतको विहार र उत्तर प्रदेशमा समेत यो प्रजाति देखिइसकेको छ ।

उपप्राध्यापक घिमिरेले केरामा यो प्रजातिको रोग लागेमा खेती नै विनाश हुने जोखिम रहेको बताउनुभयो । “धेरै लगानी जोखिममा पर्न सक्छ”, उहाँ भन्नुहुन्छ, “किसान यो पेसाबाट विस्थापित हुने जोखिम बढ्छ ।”

सो सम्बन्धी छलफल कार्यक्रममा तीन पालिका टीकापुर, जानकी र लम्कीचुहाका कृषि शाखाका कर्मचारी, मूल कुला समितिका पदाधिकारी, कुला समितिका प्रतिनिधि, कृषक, थोक व्यापारी, मध्यस्थकर्ता व्यापारी, खुद्रा व्यापारी सहभागी थिए । कार्यक्रममा केरा किसानका समस्या समाधान गर्न सरकारले नीतिगत रुपमा सुरक्षा प्रदान गर्नुपर्ने माग गरिएको छ ।

यो याममा नेपालमा केरा अभाव हुने र भारतीय केराले बजार ढाक्दा यहाँ उत्पादन भएको केराले समेत मूल्य नपाएको किसानको गुनासो छ । यसका साथै केरामा प्रयोग हुने विषादीको कम प्रयोगबारे व्यापारी र एग्रोभेट सञ्चालक जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।

विषादीको प्रयोग घटाउन स्थानीय सरकारले ध्यान दिनुपर्ने र समयमै ध्यान नदिए घरघरमा बिरामी बढ्ने अत्तरियाका थोक व्यापारी नन्दलाल भट्ट बताउनुहुन्छ । “केरामा अत्यधिक विषादी प्रयोग हुन थालेको छ, यसले मानव स्वास्थ्यमा असर पार्छ”, भट्टले भन्नुभयो, “किसान र व्यापारी दुवैले विषादीको प्रयोग र असरबारे जानकार हुनुपर्छ, उपभोक्ता पनि कस्तो खानेकुरा खाँदैछु भनी सचेत हुन आवश्यक छ ।”

टीकापुरमा सिँचाइ आयोजनाको सहयोगमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द अवस्थामा छ । किसान र आयोजनाको लागत सहभागितामा रु तीन करोड बढी लागतमा बनेको च्याम्बर बन्द भएकाले सञ्चालनका लागि पहल गर्नुपर्ने समेत किसानले माग गरेका छन् । च्याम्बर बन्द भएपछि किसानले रु ३२ लाख भुक्तानी पाउन बाँकी रहेको केरा व्यवसायी सङ्घका अध्यक्ष दीपेन्द्र चौधरीले बताउनुभयो ।

“सिँचाइ आयोजनाले केरा खेतीमा मात्र नभई प्रविधि, वैज्ञानिक प्रविधि, गुणस्तर र बजारीकरणमा सघाउनुपर्छ”, उहाँले भन्नुभयो, “भारतीय केरा नेपाल भित्रिँदा नेपाली किसानको बारीमा केरा डम्पिङ भइरहेको छ, राम्र्रो उत्पादन नभए पनि हाम्रो बारीमा केरा अहिले पनि छ, सरकारले केरा किसानलाई सरक्षण गर्नुपर्छ ।”

अर्का थोक व्यापारी कर्णबहादुर मल्लले चार महिना फागुनदेखि जेठसम्म नेपाली केरा कम उत्पादन हुने हुँदा भारतीय केरा आउने गरेको बताउनुभयो । “अन्य समयमा नेपालकै केराले बजार धान्छ, यहाँको केरा अन्य जिल्लामा जान्छ”, उहाँले भन्नुभयो, “मौसमले गर्दा फागुनदेखि जेठ महिनासम्म यहाँ कम केरा उत्पादन हुन्छ, यही मौकामा भारतीय केराले बजार ढाक्छ, यहाँ भएको उत्पादनले मूल्य पाउँदैन ।”

आयोजनाको कमान्ड क्षेत्रका तीन पालिकामा साढे पाँच सय हेक्टरमा केरा खेती हुने गरेको छ । कार्यक्रममा कृषिविज्ञ कृष्ण न्यौपानेले कृषिमा असल अभ्यासका लागि किसानलाई अझै सचेतना चाहिएको र विषादीको अत्यधिक प्रयोग घटाउन प्राविधिक ज्ञान दिनुपर्ने बताउनुभयो ।

जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले भातको विकल्पका रुपमा केरा प्रयोग गर्न सकिने भएकाले उत्पादन र बजारीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । “हामीले कृषिलाई प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “केराले किसानलाई व्यावसायिक बनाउन र कृषिमा रमाउन सिकाएको छ ।”

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले पालिकासँग बजेट अभाव भएकाले कृषिमा सोचेजस्तो गर्न नसकेको बताउनुभयो । “पानामा रोगबारे पटक पटक छलफल भएको हो, त्यसमा स्थानीय सरकारले मात्र केही गर्न सक्दैन, हामीले प्रदेश र सङ्घ सरकारसँग समन्वय गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “बजेट तर्जुमा गर्ने तयारीमा रहेकाले केरा किसानका माग आए समेट्नेछौँ ।”

कार्यक्रममा आयोजनाका प्रमुख भरत कँडेलले किसान नै भोलिको भविष्य रहेकाले किसानलाई जोगाउने र बलियो बनाउने काममा आयोजनाले सक्दा प्रयास गरिरहेको बताउनुभयो । “हामी किसानका माग र आवश्यकतामा आधारित कार्यक्रम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “किसानलाई प्रविधिको प्रयोगसँगै र गुणस्तरीय उत्पादनमा सक्रिय गराउने काममा हामी लागिरहेका छौँ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?