युवावर्गलाई कृषिमा लाग्न सुझाउँदै तरकारी खेतीमा व्यस्त पूर्वशिक्षक

मध्यविन्दु (नवलपरासी), १७ जेठ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ का नारायण लामिछानेको दैनिकी हिजोआज कृषि कर्ममा बित्ने गरेको छ । स्नातकोत्तरसम्मको पढाइ पूरा गर्नुभएका उहाँ १४ वर्षको शिक्षणपछि पूर्णरूपमा कृषि कार्यमा खटिनुभएको हो । विगत दुई वर्षदेखि उहाँ माटोसँग खेलिरहनुभएको छ ।

स्थानीय विद्यालय र क्याम्पसका अङ्ग्रेजी अध्यापक उहाँ आफ्नै खेतबारीमा व्यस्तहुनुहुन्छ । “स्नातकोत्तरसम्मको पढाइ पूरा गरेर १४ वर्ष अध्यापन गरेँ तर मलाई कक्षा कोठामा पढाउनभन्दा कृषि कर्म राम्रो लाग्यो दुई वर्षदेखि पूर्णरूपमा खेतबारीमा रमाएको छु”, उहाँले भन्नुभयो, “अहिले मेरो आम्दानीको स्रोत नै कृषि हो ।”

विगतमा निर्वाहमुखी खेती गर्दै आए पनि पछिल्लो सात वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको उहाँले बताउनुभयो । कुनै विषादीको प्रयोग नगरी जैविक उत्पादन गरेकाले खेतबारीबाट नै तरकारी बिक्री हुने गरेको उहाँको उहाँले बताउनुभयो । “मौसमी र बेमौसमी तरकारी खेती गर्ने गरेका छौँ, बाह्रैमास हाम्रा खेतबारी हराभरा हुन्छन्”, उहाँले भन्नुभयो, “उत्पादन भएको तरकारी स्थानीय बजारमा नै खपत हुने गरेको छ ।”

अहिले उहाँको खेतबारीमा लौका घिरौँला, करेला, बोडी, टमाटर, फर्सीको मुन्टा र खरबुजालगायतका तरकारी फलेको देख्न सकिन्छ । हिजोआज गर्मी सिजन भएकाले खरबुजाको माग र बिक्री धेरै भइरहेको छ । बारीबाट टिपेको ताजा तरकारी सहुलियत दरमा स्थानीयलाई बिक्री गर्ने गरिएको छ । कहिलेकाहीँ उत्पादन बढी हुँदा आफैँले गाडीमा राखेर बिक्री गर्न हिँड्ने गरेको लामिछानेले बताउनुभयो ।

“आफ्नो घरमा बसेर तरकारी खेती गर्दै आएको छु कुनै सिजनमा सोचेभन्दा राम्रो आम्दानी हुन्छ, कहिले अलि थोरै हुन्छ”, उहाँले भन्नुभयो, “कृषिका लागि बैंकबाट लिएको रु २० लाख ऋणको ब्याज तिर्ने र घर खर्च चलाउने सबै खर्च तरकारी खेतीबाट भएको आम्दानीले नै पुग्ने गरेको छ ।” उहाँका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी शिक्षण पेसा गरिरहेका छन् तर लामिछाने भने आफ्नै गाउँघरमा तरकारी खेतीबाट खुसी हुनुहुन्छ । तरकारी उत्पादनमा दैनिक श्रम गर्दा आफ्नै खेतबारीमै विदेशमा पाइनेभन्दा उत्तम रोजगारी मिलेको अनुभूति हुने गरेको लामिछानेले बताउनुभयो ।

अधिकांश युवा रोजगारीको खोजीमा विदेशिने क्रम बढ्दो छ । स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै विदेश पस्ने युवाका लागि नारायण लामिछाने प्रेरणाको स्रोत बन्नुभएको छ । उहाँ स्वदेशमा नै श्रम गर्न सबै युवालाई सुझाउनुहुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?