पोल्ट्रीको अत्याधुनिक प्रविधि देखेर किसान दङ्ग

चितवन: यहाँका धेरैजसो किसानले परम्परागत रुपमा कुखुरापालन गर्दै आएका छन् । केही ठूला व्यवसायी आधुनिक प्रविधितर्फ गए पनि पछिल्लो अत्याधुनिक प्रविधि नेपालमा अझै भित्रिएको छैन । तर, यहाँ भएको अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीमा राखिएका अत्याधुनिक प्रविधि देखेर यहाँ आएका कुखुरापालक किसान दङ्ग परेका छन् ।

कम लागतमा धेरै अण्डा र मासु उत्पादनका लागि उपयोगी यस्ता प्रविधि देखेपछि किसान र व्यवसायी उत्साहित भएका हुन् । कतिपय विद्यार्थी र यस क्षेत्रमा रुची राख्नेहरु पनि आकर्षित भएका छन् । विश्वका विभिन्न देशका विज्ञ र प्रविधि झिकाएर प्रत्यक्ष रुपमा किसानलाई बुझाउने काम प्रदर्शनीमा गरिएको थियो ।

झापाबाट प्रदर्शनी हेर्न आउनुभएका सुवास खतिवडा प्रदर्शनीमा राखिएका प्रविधिहरुको अध्ययन गर्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो “विदेशमा गएर हेर्नुपर्ने उपकरणहरु यही हेर्न पाउँदा खुसी लागेको छ ।”
भरतपुर महानगरपालिका वडा नम्बर १२ का दिनेश कट्टेलले कुखुरापालन गर्नेलाई प्रदर्शनी निकै फलदायी भएको बताउनुभयो । पोल्ट्रीसँग सम्बन्धित उपकरण र औषधिका बारेमा हेर्ने र बुझ्ने अवसर पाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उपलब्धिमूलक प्रदर्शनी भएकाले यस्ता कार्यक्रम हरेक दुई–तीन वर्षमा हुनुपर्छ ।”

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा भेटेरिनरी सङ्काय अध्ययनरत सविना पाण्डे प्रदर्शनीले विद्यार्थीदेखि किसानसम्मलाई अध्ययनका लागि सहज बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यस्ता सामग्रीको विषयमा अध्ययन गरेका थियौँ । तर अहिले यहीँ प्रत्यक्ष हेर्न पाइयो ।”

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा सुविर सिंहले प्रदर्शनीमा किसान पाठशालाको संयोजन गर्नुभएको थियो । उहाँका अनुसार तीन दिनसम्म नेपाल, भारत, क्यानडा, ताईवान र मलेसियाका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । तीन दिनमा १९ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । जसमा कुखुरापालन सम्बन्धी अत्याधुनिक प्रविधिका बारेमा किसान, व्यवसायी र विद्यार्थीलाई बुझाउने प्रयास गरिएको थियो ।

विदेशमा जाँदा भाषाको समस्या हुने भए पनि यहाँ सहज रुपमा कतिपय विषय नेपालीमा बुझाइएको थियो । तीन दिनमा दुई सय ५५ जनाभन्दा बढीले प्रविधिको बारेमा ज्ञान हासिल गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टिकाराम पोखरेल नेपालमा यसअघि सन् २०१७ र २०१९ मा प्रदर्शनी गरिए पनि त्योभन्दा अझै राम्रो यो पटक गर्न सकिएको बताउनुहुन्छ । यही जेठ १८, १९ र २० गते गरिएको प्रदर्शनीमा विश्वका विभिन्न देशका पोल्ट्रीसँग सम्बन्धित फार्म, औषधि, दानालगायतका अत्याधुनिक उपकरण प्रविधिका बारेमा प्रदर्शन र पाठशाला सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपाल पोल्ट्री महासङ्घ र इण्डिया पोल्ट्री ईक्यूपमेण्ट एशोसिएशनको आयोजनामा प्रदर्शनी भएको हो । प्रदर्शनीमा एक सय ५० वटा स्टल रहेका थिए । नेपालमा पहिलो पटक विसं २०४८ मा प्रविधि भित्र्याएर व्यावसायिक कुखुरापालन गर्नुभएका नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट प्रदर्शनीबाट नेपाल र भारतीय किसान एवं व्यवसायी लाभान्वित भएको बताउनुहुन्छ ।

अत्याधुनिक प्रविधि प्रयोग गर्न सक्दा थोरै लागतमा धेरै उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । यसले किसान र कुखुरा पाल्नका लागि आवश्यक उपकरण उत्पादन गर्ने कम्पनीका बीचमा सम्बन्ध स्थापित गर्न सहयोग पुगेको उहाँको भनाइ छ । प्रर्दशनीमा नेपाल, भारत, चीन, जर्मन, बेल्जियिम, नेदरल्याण्ड, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायल, बग्लादेश लगायतका देशका कुखुरासँग सम्बन्धित कम्पनी तथा विज्ञहरुको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?