सडक पुगेपछि लेकमा धमाधम भेडीगोठ बनाइँदै

ढोरपाटन (बागलुङ), २४ जेठ : समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटरको उचाईमा छ रिग क्षेत्र । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने रिग क्षेत्र पशु चरन क्षेत्रका लागि प्रख्यात मानिन्छ । यहाँ बागलुङ, पूर्वी रुकुम र रोल्पाका भेडा गोठाला भेडाबाख्रा र गाईभैँसी लिएर आउँछन् ।

जेठ पहिलो सातादेखि रिग उक्लने गोठाला असोज लागेपछि मात्रै गाउँ ओर्लन्छन् । लेकमा बस्ने समय चोयाका बलाङ, मान्द्रो र त्रिपालले छाएका कोठमा बस्थे । कतिले काठैकाठको गोठ बनाएर बर्खा गुजार्थे । तर अहिले सहरबजार र गाउँ क्षेत्रमा घर गोठ छाउनका लागि प्रयोग गरिने जस्तापाताले नै रिगमा गोठ बन्न थालेका छन् । वन जङ्गलममा पाइने काठ र चोयाबाट गोठ बनाएर बस्ने गोठाला आजभोलि जस्ताले छाएका छोठमा बस्छन् ।

लेकमा व्यवस्थित गोठनै बनाएर बस्न थालेपछि बर्खाभरी चाहिन खाद्यन्न पनि यहीँ भण्डार गर्न थालेका छन् । पहिले महिना–महिनामा गाउँ झरेर खर्च लैजाने गोठालेले अहिले एकै पटक चार महिनाका लागि पुग्ने अन्नपात गोठमा भण्डार गरेर राख्छन् । यो सबै सुविधा सडकले दिलाएको हो । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने पातीहाल्ने सिमानादेखि दुई समय मिटरमाथि गोठालाले गोठ बनाएका छन् । केही त सडक छेउमै समेत व्यवस्थित गोठ बनाएका छन् ।

सडकको सहज पहुँचको कारण गाडीमै सहज रुपमा जस्तापात लेकमा लैजान सक्ने भएपछि उनीहरुले रिग क्षेत्रमा जस्तापाताको गोठ बनाउन थालेका हुन् । पहिले सानो झुपडी देखिने स्थानमा अहिले ठूलाठूला गोठ देख्न सकिन्छ । बर्खामा बनाउने र हिउँमा भत्काएर काठ, दाउरा बोकेर गाउँ झर्ने गोठालाले अहिले स्थायी रुपमै गोठ बनाउन थालेका हुन् । यि गोठ हिउँदको समय भने खाली हुन्छन् ।

यति बेला बागलुङ, रुकुम र रोल्पा तीन वटै जिल्लाका गोठाला लेक चढ्नेयाम भएको हुँदा रिग क्षेत्रमा वस्तुभाउको भीड देखिन्छ । रिग भन्दामाथि चार हजार दुई सय मिटरको उचाईसम्म भेडा लिएर गोठाला जाने गर्छन् । एकदशक अगाडिसम्म लेकमा त्रिपालसमेत नपाइने हुँदा चोयाका चित्रा तथा बलाङले गोठ छाएर बसेको निसीखोला गाउँपालिका–६ भल्कोटका लालसिंह घर्ती मगरले बताउनुभयो ।

सडकले गर्दा पछिल्लो समय गाउँ घरसम्म त्रिपाल, जस्तापात र अन्य सामग्री सहज रुपमा पाइन थालेपछि गोठालाले लेकमै स्थायी गोठ बनाउन थालेको उहाँको भनाइ छ । उतिबेला सामान्य पानी तार्ने र हावा छेक्ने मात्रै गोठ हुने गरेको भन्दै लेकमा बस्दा निकै दुःख हुने गरेको अनुभव घर्ती मगरले सुनाउनुभयो ।अचेल गोठालको दैनिकी पनि सहज बन्दै गएको उहाँ बताउनुहुन्छ । एक दशक अगाडि दाउरा बालेर उज्यालो गराउने गरेको स्मरण गर्दै अहिले सोलार बत्ती प्रयोग गर्ने उहाँको भनाइ छ ।

घर्ती मगरले भन्नुभयो– “पहिलेको तुलनामा अचेल धेरै परिवर्तन भएको छ, गोठभन्दा १० मिनेट हिँडेर तल पुग्यो भने मोटरबाटो भेटिन्छ, मोटरबाटोमा गाडीले गाउँबाट सामान ल्याइदिन्छ, पहिले जस्तो भारी बोकेर ल्याउनुपर्ने अवस्था कम भएको छ, लेकमा हुने गोठ सामान्य हुन्थे, बेँसी झर्ने बेला सबै भत्काएर काठपात बोकेर लैजाने गथ्र्यौँ, अहिले त्यो अवस्था छैन, आँटोपीठो पनि बर्खा भरिलाई पुग्ने गरी एकै पटक ल्याइन्छ, पहिले महिनाविच्छे गाउँ गएर ल्याइन्थ्यो ।”

रोल्पाको तेलबाङका सन्तोष घर्ती मगरले केही वर्षयता धेरै गोठालाले लेकमा स्थायी गोठ बनाउन थालेको बताउनुभयो । पाँच वर्ष अगाडिसम्म रिग क्षेत्रमा कुनै पनि गोठालाको स्थायी गोठ नभएको भन्दै अहिले झण्डै एक दर्जन जति गोठ बनेको उहाँको भनाइ छ । पशुचौपाया लिएर टाढा–टाढासम्म जानुपर्ने भएको हुँदा धेरै गोठालाको स्थायी गोठ नभएको घर्ती मगर बताउनुहुन्छ । आफूसहित रोल्पाबाट आठ जना गोठालाको समूह जेठ पहिलो सातानै रिग आएको सुनाउँदै अब असोजमा मात्रै गाउँ फर्किने उहाँको भनाइ छ । आफ्नो सात सय भेडाबाख्रा रहेको घर्ती मगरले सुनाउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?