मधुवनका बङ्गुरपालक किसानलाई सहयोग सामाग्री हस्तान्तरण

गुलरिया (बर्दिया), २७ जेठ : बर्दियाको मधुवन नगरपालिकाका बङ्गुरपालक किसानलाई औषधिलगायतका सामाग्री उपलब्ध गराइएको छ । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको बालीवस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास बङ्गुरपालन कार्यक्रमअन्तर्गत किसानलाई औषधिको साथमा सामग्री हस्तान्तरण गरिएको छ ।

मधुवन नगरपालिका–९ का बङ्गुरपालक कृषकलाई परजीवी नियन्त्रण औषधि, मिनरल/आइरन, किसानको सुरक्षाका लागि गमबुट, मास्क, एप्रोन, भिटामिन, चारामेसिनलगायत सामाग्री हस्तान्तरण गरिएको कृषि तथा पशुपंक्षी विकास कार्यालय गुलरिया बर्दियाका प्रमुख सागर ढकालले बताउनुभयो । यसअघि व्यावसायिकरूपमा बङ्गुरपालन गरिरहेका किसानलाई दुई कोठे सातवटा खोरसहित चार किसानलाई बङ्गुरको भाले र तारजालीसमेत वितरण गरिएका उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बङ्गुरपालनतर्फ किसानलाई प्रोत्साहन गर्न २३ जना किसानलाई औषधीजन्य तथा सुरक्षण सामाग्री तथा तीनवटा चारामेखिन घरदैलोमै हस्तान्तरण गरेका छौँ । बङ्गुरको मासुको माग बढेकाले सुरक्षित तरिकाले किसानहरुलाई व्यवसाय सञ्चालन गर्न सहज बनाउने उद्देश्यले तालिमसमेत उपलब्ध गराउने योजना छ ।”

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा प्रवेश सिंह कुँवरले मधुवन नगरपालिका वडा नं ९ बङ्गुरपालन पकेट क्षेत्रको रूपमा अघि बढाइने बताउनुभयो । एकै ठाउँमा एकै किसिमको व्यवसाय गर्दा बजारीकरण र प्राविधिक सहयोग गर्न सहज हुने भएकाले उपलब्ध सामाग्रीको सही सदुपयोग गरी उत्पादन वृद्धि गर्न किसानलाई उहाँले आग्रह गर्नुभयो ।

सामग्री हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशसभा सदस्य जन्मजय तिमिल्सिनाले धेरैले कृषि पेशा छाडेर वैदेशिक रोजगारी, सामाजिक सेवालगायत अन्य पेशा व्यवसायमा लागिरहेका अवस्थामा उपलब्ध गराइएको सामाग्री उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषितर्फ आकर्षण बढाउन कृषिजन्य उत्पादनको उचित बजारीकरण र समयमा मूल्य निर्धारण गर्न लाग्नुपर्ने बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?