शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण

दमौली (तनहुँ), ३ असार : जिल्लाको शुक्लागण्डकी नगरपालिका र कृष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा पाँच हजार कफीका बिरुवा वितरण गरिएको छ । यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा कफीका बिरुवा वितरण गरिएको हो ।

बाँझो जमिनको उपयोग गर्दै उत्पादनसँग जोड्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित ‘युवासँग उपप्रमुख कार्यक्रम’मार्फत ६० समूहका पाँच सय ७५ किसानलाई कफीका बिरुवा वितरण गरिएको नगरका आर्थिक विकास शाखा प्रमुख नवराज पण्डितले जानकारी दिनुभयो ।

शुक्लागण्डकीको आठ सय मिटरदेखि एक हजार चार सय मिटर उचाइसम्मको पाखो जमिनमा कफीको व्यावसायिक खेतीको सम्भावना रहेकाले किसानलाई कफीखेतीतर्फ प्रोत्साहन गरिएको उहाँको भनाइ छ ।

प्रमुख पण्डितले यसअघि किसानले उत्पादन गरेका कफी कास्की, स्याङ्जालगायत जिल्लामा बिक्रीवितरण गरिएकामा आगामी वर्षदेखि कृष्मी बहुउद्देश्यीय सहकारी संस्थासँगको समन्वयमा स्थानीयस्तरबाटै यचित मूल्यमा बजारीकरण गरिने बताउनुभयो ।

बाँदरलगायत जङ्गली वन्यजन्तुबाट कम क्षति हुने र पाखो बाँझो जमिनमा कफीखेतीको राम्रो सम्भावना रहेकाले आगामी वर्ष दोब्बर बिरुवा वितरण गर्ने गरी तयारी गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखरा र सहकारी संस्थाको साझेदारीमा २० हजार बिरुवाको नर्सरी निर्माण गरिएको सहकारीका अध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो ।

युवालाई स्वदेशमै सम्भावना देखाउने उद्देश्यले युवासँग उपप्रमुख कार्यक्रममार्फत उत्पादन केन्द्रित अभियान सञ्चालन गरिएको नगर उपप्रमुख खुमबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशी बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म नेपाली कफीको अत्यन्तै माग बढेको छ । शुक्लागण्डकी क्षेत्रमा मात्रै आधा दर्जन भन्दा बढी कफी पसल खुलेको पछिल्लो तथ्याङ्कले देखाउँछ ।”

पछिल्लो समय युवापुस्तामा कफी पिउने संस्कृतिको विकास भएको दुलेगौँडामा सञ्चालित फिरफिरे कफी एण्ड डेरीका सञ्चालक राम गुरुङले बताउनुभयो । अधिकांश युवापुस्ता चियाको साटो कफी पिउने रुचाउने उहाँको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?