भोजपुर सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ पोखरी

भोजपुर, ४ असार : अरुण गाउँपालिका–७ सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रलाई लक्षित गरी सिँचाइ पोखरी निर्माण सुरु गरिएको छ । यस क्षेत्रका जमिन खेतीका लागि उर्वरभूमि भए पनि पर्याप्त सिँचाइ सुविधा नहुँदा बाझिन थालेका थिए तर पछिल्लो समय उक्त क्षेत्रमा एक टोल एक सिँचाइ पोखरी निर्माण सुरु गरिएको वडाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाको रु १५ लाख लागतमा ढुङ्गेटोलमा नौ लाख लिटर क्षमताको ठूलो पोखरी निर्माण भइसकेको छ । बेलटार टोलमा पाँच लाख लिटर र मैदाने टोलमा तीन लाख लिटर क्षमताका पोखरी निर्माण गरिएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार वडाका अन्य टोलमा चारवटा पोखरी निर्माणाधीन छन् । सबै स्थानमा पानीको स्रोत सुनिश्चित भएपछि पोखरी निर्माण थालिएको उहाँले बताउनुभयो ।

पोखरी निर्माणपछि यहाँका सुक्खाग्रस्त क्षेत्रका करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा सिँचाइको सुविधा पुग्नेछ । माथिल्लो भेगमा खनिएका यी पोखरीहरुले खानेपानीको मुहान रिचार्जमा पनि सहयोग गर्ने अध्यक्ष थापाको भनाइ छ । “पोखरी निर्माणपछि सिँचाइसँगै अन्य उपयोगका लागि पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सबै टोलमा रु एक करोड बराबर लगानीमा पोखरी निर्माणको उद्देश्य लिइएको छ ।

यहाँका सिक्रेटार, पीपलटार, जगरे खिसु, गौरालगायत क्षेत्र सुक्खाग्रस्त क्षेत्रमा पर्छन । सिँचाइको व्यवस्था भएमा यहाँ जिरा, मेथी, बदाम, आँप, लिची, कटहर, केरा, ड्रागनफ्रुट, रुद्राक्ष तथा तरकारीको व्यावसायिक खेती गर्न सकिने स्थानीय किसान केदारप्रसाद अधिकारीले बताउनुभयो । एक टोल एक सिँचाइ पोखरी निर्माण अभियानले किसानमा उत्साह थपिएको उहाँको भनाइ छ ।

पोखरी निर्माणले स्थानीयलाई तरकारीखेतीका लागि सहज भएको स्थानीय हेमचन्द्र अधिकारीले बताउनुभयो । उहाँले आफूले पनि पोखरीको पानी प्रयोग गरेर तरकारीखेती गरिरहेको र सहज भएको बताउनुभयो । “सिँचाइका लागि पर्याप्त पानी नहुँदा बसाइँसराइ बढ्दो थियो, अब यो क्रम रोकिन्छ कि भन्ने आशा छ”, उहाँले भन्नुभयो ।

जलवायु परिवर्तनका कारण देखिएका असरको न्यूनीकरण गर्दै जलाधारहरुको संरक्षण गर्ने लक्ष्यका साथ टोलस्तरमा सिँचाइ पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको सो वडाका सचिव अशोक अधिकारीले बताउनुभयो । यो कार्यक्रमले भविष्यका लागि ठूलो लाभ पुग्ने उहाँको विश्वास छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?