महाभारतमा उत्पादित कफी जापान निर्यात

काभ्रेपलाञ्चोक, २१ असार : जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी उत्पादनलाई आधुनिकीकरण गर्न थालेको छ । कफी उत्पादनलाई आधुनिक बनाउने उद्देश्यले पालिकाले व्यावसायिक कफी किसानलाई आधुनिक कृषि सामग्री वितरण गरेको हो ।

आधुनिक कृषि प्रविधिसँग जोड्दै थप सहज र उत्पादन वृद्धि गरी कफीखेतीबाट आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक किसानलाई सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । यो साता कफी किसानलाई ८० पल्पर मेसिन, एक सय कफीराख्ने जाली, एक सय किसानलाई पाँच सय मिटर पार्चमेन्ट जाली, बिन्स बनाउने मेसिन, महिचर मेसिन, डिजिटल तराजु र ह्याण्ड ग्रेडरसहितका सामग्री वितरण गरिएको छ ।

बाँकी किसानलाई आवश्यकताका आधारमा सामग्री वितरण गर्दै जाने अध्यक्ष जिम्बाले बताउनुभयो । “आधुनिक सामग्रीले कफी खेत ितथा उत्पादनमा सहजता हुने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । केही वर्षदेखि स्थानीयको आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि पालिकाले बर्सेनि अनुदानमा कफीका बिरुवा वितरण गर्दै आएको छ । गाउँपालिकाका अनुसार एक हजार चार सय ३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ ।

आर्थिक वर्ष २०७९÷८० मा स्थानीय किसानलाई एक लाख कफीका बिरुवा निःशुल्क वितरण गरेको पालिकाले चालु आवमा ९० हजार बिरुवा वितरण गरेको छ । महाभारत–३, ५ र ८ मा नर्सरी स्थापना गरिएको छ । गाउँपालिकामा हाल व्यावसायिक कफी उत्पादन गर्ने किसान एक हजार दुई सयको हाराहारिमा रहेका अध्यक्ष जिम्बाले जानकारी दिनुभयो ।

कफी उत्पादनलाई पकेट क्षेत्रका रुपमा विकसित गर्दै हरेका वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा राखिएको जिम्बाले बताउनुभयो । यहाँका किसान परम्परागत मकै, कोदो तथा अन्य खाद्यान बाली छाडेर कफीखेतीमा आकर्षित हुँदै गएका उहाँको भनाइ छ ।

पालिकाबाट बर्सेनि रु पाँचदेखि १२ लाखसम्मको कफी बिक्री हुने गरेको वडा नं ५ का सुवास जिम्बाले बताउनुभयो । यहाँ कफी उत्पादन राम्रो हुनुका साथै बजारीकरणको समस्या हट्दै गएकाले किसान यसतर्फ आकर्षित हुँदै गएका उहाँको भनाइ छ ।

यसैबीच महाभारतका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । ‘हिमालयन लक्जरी विन्स’ नामक कम्पनीले तीन वर्षदेखि यहाँ उत्पादित कफी जापान निर्यात गर्दै आएको हो ।

बागमती प्रदेश सरकारले ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आगामी आवका लागि महाभारत–५ र खानीखोला गाउँपालिका–२ लाई कफी उत्पादनका लागि छनोट गरेको छ ।

विन्सका सञ्चालक गुणबहादुर लामाले महाभारत क्षेत्रमा उत्पादित कफी स्वादिलो र गुणस्तरीय भएकाले जापानबाट माग हुने गरेको भन्दै निर्यातलाई निरन्तरता दिँदै आएको बताउनुभयो । “हाल एक हजार पाँच सय केजी जापान पठाउने गरेका छौँ । माग अनुसार थप निर्यात बढाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।

यहाँ उत्पादित कफीलाई सुरुमा स्थानीयस्तरमा प्रशोधन गर्ने र बनेपास्थित विन्समा ल्याई पूर्णरूपमा प्रशोधन गर्ने गरिएको सञ्चालक लामाले जानकारी दिनुभयो । डाँडापारिमा पल्पिङ सेन्टर स्थापनापछि किसानले बोक्रा फालेर प्रशोधनअघि बिक्री गर्दा प्रतिकेजी रु पाँच सयदेखि रु छ सयसम्म पाउने गरेका छन् ।

एक पटक रोपेको बिरुवाबाट पचास वर्षसम्म आम्दानी लिन सकिन्छ । एक रोपनीमा वार्षिक रु २५ देखि ३० हजारसम्म कमाइ हुने गरेको गाउँपालिकाका अध्यक्ष जिम्बाले बताउनुभयो । महाभारतको आर्थिक समृद्धिको आधार कफीमार्फत गराउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments