कृषिमा यान्त्रिकीकरण गर्न अनुदानमा कृषि औजार
गोरखा:यहाँको भीमसेन थापा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण गर्न अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाभित्रका प्रत्येक वडाको एउटा कृषि सहकारी छनोट गरी कृषि औजार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जराले जानकारी दिनुभयो ।
किसानलाई प्रोत्साहितगर्दै कृषिपेशालाई यान्त्रिकीकरणमा जोड दिने उद्देश्यले शतप्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको उहाँले बताउनुभयो । पालिकाले रु २७ लाख १५ हजार बराबरको कृषि औजार खरिद गरी वितरण गरेको गाउँपालिका कृषि शाखा प्रमुख विनोद भन्तनाले जानकारी दिनुभयो ।
गाउँपालिकाले बीउ रोप्ने उपकरण सात थान, थ्रेसर, चाप कटर, पानी तान्ने पम्प एक÷एक थान वितरण गरेको हो । स्प्रे पम्प तीन थान, हाते ट्याक्टर चार थान, घाँस काट्ने मेसिन दुई थान र मकै छोडाउने मेसिन एउटा वडामा पाँच थानको दरले वितरण गरिएको गाउँपालिकाले जनाएको छ । वितरण गरिएका कृषि औजार सहकारीमार्फत न्यून शुल्क तिरेर किसानले प्रयोग गर्न पाउनेछन् ।
‘‘कृषि उपकरणको अभावमा कृषिमा लागत बढी र उत्पादन कम हुने अवस्था छ,” कृषि शाखाका प्रमुख भन्तनाले भन्नुभयो, ‘‘अब कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन बढाउन प्रविधिको प्रयोगमा जोड दिने गाउँपालिकाको योजना छ ।’’
गाउँमा खेतीयोग्य जमिन बाँझो हँुदै गएकाले कृषिलाई प्रविधिमैत्री बनाउन सके कम लगानीमा बढी उत्पादन गर्न सकिने उहाँको भनाइ छ । ‘‘परम्परागत खेती प्रणालीले कृषि उत्पादन वृद्धि गर्न सकिदैन,’ उहाँले भन्नुभयो, ‘‘उत्पादन बढाउन कृषिमा यान्त्रिकीकरण गर्नु अनिवार्य छ ।’’
