मलको हाहाकार अन्त्य हुँदैन, जो मन्त्री भए पनि यस्तै हो: कृषिमन्त्री अधिकारी

काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा मलको अभाव सधैँ रहिरहने निराशाजनक अभिव्यक्ति दिएका छन्। मागको तुलनामा एक चौथाइ मात्र मल आपूर्ति हुने भएकाले किसानलाई समयमै मल दिन सक्ने अवस्था नरहेको उनले स्वीकार गरे।
नेपाल डेरी एशोसिएशनको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, “गत वर्ष करिब २८ अर्ब बजेटमा जम्मा साढे ४ लाख टन मल आयो, जबकि माग १३ लाख टनसम्म छ। यस्तो अवस्थामा जो मन्त्री भए पनि मलको हाहाकार हुन्छ।”
उनले राज्यको दायित्वका कारण किसानलाई ‘मल आउँछ’ भनेर आश्वासन दिनुपर्ने बाध्यता रहेको तर यथार्थमा मल पुर्याउन असम्भव रहेको बताए। मन्त्री अधिकारीले दूधको भुक्तानी, चिस्यानकेन्द्र र बीमामा पनि गम्भीर समस्या रहेको दुःखेसो गरे।