” कालीमाटीमा आजको तरकारी तथा फलफूलको थोक मूल्य, के को कति ? (सूचीसहित) “

काठमाडौं, मंगलबार।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज, मंगलबारका लागि कृषि उपजहरूको थोक मूल्यसूची सार्वजनिक गरेको छ। सार्वजनिक मूल्यसूची अनुसार केही तरकारी तथा फलफूलको मूल्य स्थिर रहे पनि केहीको मूल्यमा उतारचढाव देखिएको छ। आज सबैभन्दा महँगो तरकारीमा पार्सले परेको छ भने सबैभन्दा सस्तोमा हाइब्रीड काँक्रो र तितो करेला रहेका छन्।

समितिका अनुसार, आज नेपाली ठूलो गोलभेडाको थोक मूल्य प्रतिकेजी न्यूनतम रू ६० देखि अधिकतम रू ७० सम्म रहेको छ भने लोकल सानो गोलभेडा रू २६ देखि ३२ मा कारोबार भइरहेको छ। यस्तै, आलुको मूल्यमा सामान्य भिन्नता देखिएको छ। रातो आलु प्रतिकेजी रू ४२ देखि ४५, भारतीय रातो आलु रू ३६ देखि ४० र सेतो आलु रू ३८ देखि ४० सम्ममा किनबेच भइरहेको छ। भारतीय सुकेको प्याजको मूल्य भने प्रतिकेजी रू ४५ देखि ४७ सम्म स्थिर रहेको छ।

यसैगरी, अन्य हरियो तरकारीतर्फ लोकल बन्दा प्रतिकेजी रू २० देखि ३० मा पाइन्छ भने स्थानीय काउली रू ४५ देखि ५५ र तराई काउली रू ३० देखि ४५ सम्ममा कारोबार भइरहेको छ। लौका, तितो करेला, चिचिण्डो, हरियो फर्सी जस्ता तरकारीको मूल्य भने निकै सस्तो रहेको छ। कागती प्रतिकेजी रू ११० देखि १४०, तितो करेला प्रतिकेजी रू १२ देखि २५, लौका रू १५ देखि २५ र हाइब्रिड काँक्रो रू १० देखि २० सम्मको न्यूनतम मूल्यमा उपलब्ध छ। यस्तैगरी, घिरौला, भिण्डी, भन्टा, परवर, स्कूस जस्ता तरकारीहरूको मूल्य भने प्रतिकेजी रू २५ देखि ५० को बीचमा रहेको समितिले जनाएको छ।

सागपातर्फ हेर्दा, रायो, तोरी र पालुंगोको सागको मूल्य प्रतिकेजी रू ७० देखि ९० को बीचमा रहेको छ। तर, पार्सलेको मूल्य भने आज सबैभन्दा उच्च देखिएको छ, जसको थोक मूल्य प्रतिकेजी रू १००० देखि १२०० सम्म तोकिएको छ। यस्तै, जिरीको साग रू ८० देखि १००, सौफको साग रू १८० देखि २०० र पुदीना रू १५० देखि २०० मा किनबेच भइरहेको छ।

च्याउको मूल्य प्रकारअनुसार फरक-फरक रहेको छ। कन्य च्याउ प्रतिकेजी रू १२० देखि १५० रहँदा डल्ले च्याउ रू ४०० देखि ४५०, सिताके च्याउ रू ८०० देखि ९०० र राजा च्याउ रू २८० देखि ३०० सम्ममा बिक्री भइरहेको छ। यस्तैगरी, कुरीलो, रातो बन्दा, गुन्द्रुक र सजिवन जस्ता उपजहरुको मूल्य पनि उच्च रहेको छ। कुरीलो प्रतिकेजी रू १८० देखि २५० र रातो बन्दा रू ३०० देखि ३५० सम्म रहेको छ।

फलफूलतर्फ, केरा प्रतिदर्जन रू १२५ देखि १३५, स्याउ (झोले) रू २२० देखि २५० र स्याउ (फूजी) रू ३०० देखि ३४० सम्ममा कारोबार भइरहेको छ। आँप (मालदह) रू ११० देखि १२५ र आँप (दसहरी) रू ११५ देखि १३० मा उपलब्ध छ।

मसलाजातमा अदुवा प्रतिकेजी रू ८० देखि १००, सुकेको खुर्सानी रू ३०० देखि ३५०, हरियो खुर्सानी रू ४० देखि ४५ र अकबरे खुर्सानी रू १५० देखि २२० सम्म रहेको छ। यस्तै, नेपाली सुकेको लसुन रू १४० देखि १६० र चाइनिज लसुन रू १८० देखि २०० सम्ममा कारोबार भइरहेको छ। हरियो धनियाको मूल्य प्रतिकेजी रू १५० देखि २०० तोकिएको छ।

यस्तैगरी, माछाको मूल्य पनि सार्वजनिक गरिएको छ। ताजा रहु माछा प्रतिकेजी रू ३१० देखि ३३०, बचुवा माछा रू ३०० देखि ३२० र छडी माछा रू २२० देखि २५० सम्ममा किनबेच भइरहेको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?