देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं, श्रावण ०२ :
विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने अनुमान गरिएको छ। यसैगरी, बाँकी प्रदेशका पहाडी भू-भागका केही र अन्य भू-भागका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको भन्दै सचेत गराएको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
आज राती पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। राती कोशी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेश र देशका अन्य पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा भू-क्षयको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। साथै, मेघगर्जन, चट्याङ र हावाहुरीबाट हुन सक्ने सम्भावित क्षतिबाट बच्न र सडक तथा हवाई यातायातमा पर्न सक्ने प्रभावप्रति सचेत रहन पनि आग्रह गरिएको छ।
