देशभर मनसुनी वर्षा, केही प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ, श्रावण १९ गते।

आज सोमबार देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिकै अवस्थित भएकाले देशभरको मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ।

विभागले जारी गरेको पूर्वानुमान अनुसार, आज दिउँसो देशभर सामान्यतया बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै, आज राति पनि मौसममा सुधार हुने देखिँदैन। राति देशभर बदली रही कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। यसैगरी, राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको विशेष सम्भावना रहेको विभागले जनाएको छ।

भारी वर्षाका कारण पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments