फेदीखोला ‘हनी हब’ बन्दै: मौरीपालनबाटै आर्थिक समृद्धिको बाटोमा

स्याङ्जा,श्रावण १९। स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी व्यवसायलाई कृषि-अर्थतन्त्रको मुख्य आधार बनाउँदै व्यावसायिक र दिगो कृषिको नमूना प्रस्तुत गरेको छ। किसानलाई दक्ष बनाउने, अनुदानमा घार उपलब्ध गराउने र स्थानीय ब्राण्ड स्थापना गर्ने महत्त्वाकांक्षी योजनासहित गाउँपालिकाले ‘गुलियो क्रान्ति’ मार्फत स्थानीयको आयआर्जन बढाउन महत्त्वपूर्ण कदम चालेको हो।

गाउँपालिकाले गण्डकी प्रदेश सरकारको “पाली संरक्षण प्रयोगशाला” सँगको सहकार्यमा नेपालमै पहिलो पटक १६ हप्ते ‘मौरीपालन कृषक पाठशाला’ सञ्चालन गरेको छ। यस पाठशालामा २४ जना किसानले व्यावसायिक मौरीपालन, आधुनिक प्रविधि, घार व्यवस्थापन, रोग नियन्त्रण र प्रजननजस्ता विषयमा गहन तालिम लिएका छन्। यो कार्यक्रमले किसानहरूलाई परम्परागत ज्ञानबाट व्यावसायिक दक्षतामा स्तरोन्नति गर्न मद्दत पुर्‍याएको छ।

७५% अनुदानमा घार, किसानलाई ठूलो राहत

तालिम प्राप्त किसानहरूलाई व्यवसाय विस्तार गर्न हौसला दिँदै गाउँपालिकाले ७५% अनुदानमा मौरीका घार वितरण गरेको छ। गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार, हालसम्म १२५० वटा घार अनुदानमा वितरण भइसकेको छ, जसमध्ये तालिमप्राप्त २४ जना किसानलाई २५ घारका दरले करिब ६०० घार प्रदान गरिएको छ। यो सहयोगले किसानको लगानी बोझ घटाउँदै उत्पादन बढाउन प्रत्यक्ष योगदान दिएको छ।

बजारदेखि ब्राण्डिङसम्म गाउँपालिकाको साथ

फेदीखोला गाउँपालिकाले उत्पादनमा मात्र नभई बजार व्यवस्थापन र ब्राण्डिङमा समेत किसानलाई साथ दिएको छ। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘महजन्य प्रथम प्रदर्शनी’ आयोजना गर्नुका साथै ‘सेरना मौरी पालक कृषक समूह’ र ‘फेदीखोला कृषि वन उद्यम सहकारी’ सँगको सहकार्यमा स्थानीय ब्राण्ड विकास गरिएको छ। यसले किसानको उत्पादनले उचित मूल्य र राष्ट्रिय बजार पाउने सुनिश्चित गरेको छ। साथै, चरन क्षेत्र विकास र कृत्रिम पोलन निर्माणजस्ता प्राविधिक सहयोगले उत्पादनको गुणस्तर र परिमाण दुवै बढाएको छ।

फेदीखोलाको भौगोलिक अवस्थिति (१००० देखि २१०० मिटर उचाइ) र जैविक विविधता मौरीपालनका लागि वरदान सावित भएको छ। यहाँ पालिने ‘सेरना’ प्रजातिको मौरीले विभिन्न मौसममा फुल्ने जडीबुटी र फूलबाट रस सङ्कलन गर्ने हुँदा यहाँको मह बहु-पुष्पीय (multi-floral) र औषधीय गुणले युक्त छ। हाल यहाँ १८०० भन्दा बढी घारमा व्यावसायिक मह उत्पादन भइरहेको छ, जसले फेदीखोलालाई गुणस्तरीय मह उत्पादनको केन्द्र अर्थात् ‘हनी हब’ का रूपमा स्थापित गराउँदै छ।

फेदीखोला गाउँपालिकाको यो पहलकदमीले मौरीपालनलाई केवल आयआर्जनको माध्यम मात्र नबनाई दिगो कृषि, जैविक प्रवर्द्धन र स्थानीय आर्थिक समृद्धिको एक सफल मोडलका रूपमा अगाडि बढाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments