देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ, भाद्र ०६ शुक्रबार।

हाल मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानको आसपासमा रहेकाले देशभर मनसुनी गतिविधि सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राती देशका विभिन्न प्रदेशहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका अधिकांश पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। बाँकी तराई भू-भागका थोरै स्थानहरूमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।

विशेषगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको तराई र पहाडी दुवै क्षेत्रका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ।

आज राती देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। रातीको समयमा पहाडी भू-भागका केही र तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

यसैगरी, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने, नदी, नाला तथा खहरे खोलाहरूमा पानीको बहाव बढ्न सक्ने र यसले सडक तथा हवाई यातायातमा समेत सामान्य अवरोध निम्त्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?