आगामी तीन दिन देशभर कस्तो रहला मौसम? जल तथा मौसम विज्ञान विभागको यस्तो छ अपडेट
जल तथा मौसम विज्ञान विभागले जारी गरेको पछिल्लो बुलेटिन अनुसार आगामी तीन दिन देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने देखिएको छ। विभागका अनुसार २०८२ चैत्र १२ गते बिहीबार दिउँसो देशको हिमाली भू-भागमा साधारणतया बदली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका थोरै स्थानहरू तथा बाँकी पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। बिहीबार राती पनि कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको आकलन गरिएको छ।
चैत्र १३ गते शुक्रबारको मौसम अझ बढी सक्रिय हुने देखिन्छ। विभागका अनुसार शुक्रबार दिउँसो देशभरका पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा तथा तराईका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
सोही दिन राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागमा समेत मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यस समयमा विशेषगरी पहाडी र हिमाली भेगमा बदलीको प्रभाव बढी रहने बुलेटिनमा उल्लेख छ।
यसैगरी, चैत्र १४ गते शनिबार पनि मौसममा पूर्ण सुधार हुने देखिँदैन। शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूका साथै बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
शनिबार राती भने तराईको मौसम मुख्यतया सफा रहने भए तापनि कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ। वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
