नयाँ नेतृत्व, नयाँ आशा: प्रधानमन्त्री बालेन्द्र शाह र रोपवेको पुनर्जागरण

नेपालको राजनीतिक र प्रशासनिक इतिहासमा आएको युगान्तकारी परिवर्तनसँगै बालेन्द्र शाहको प्रधानमन्त्रीत्वकालले विकासका पुराना र अलपत्र परेका आयोजनाहरूमा नयाँ प्राण भर्ने विश्वास जगाएको छ। दशकौंदेखि कवाडीका रूपमा थन्किएको काठमाडौं–हेटौंडा रोपवे अब केवल इतिहासको पानामा सीमित रहनेछैन, बरु यो प्रधानमन्त्री शाहको ‘प्राविधिक दृष्टिकोण’ र ‘परिणाममुखी कार्यशैली’को एक नयाँ नमुना बन्ने अपेक्षा गरिएको छ। ईन्जिनियरिङ पृष्ठभूमि भएका प्रधानमन्त्रीका लागि यो रोपवे एउटा मेसिन मात्र नभई नेपालको ढुवानी प्रणालीलाई सस्तो, स्वच्छ र आत्मनिर्भर बनाउने कडी हो। तराईलाई काठमाडौंसँग जोड्ने यो सबैभन्दा छोटो र किफायती मार्गलाई आधुनिक ‘डिजिटल र अटोमेटेड’ प्रविधिमा ढालिने आशाले अहिले आम नागरिकमा उत्साह थपेको छ।

विगतमा राजनीतिक हस्तक्षेप र प्राविधिक उपेक्षाका कारण थला परेको यो आयोजनाको समाधानका लागि अब नयाँ सरकारले यसलाई ‘राष्ट्रिय गौरवको रणनीतिक पूर्वाधार’का रूपमा अघि बढाउनु पर्ने देखिन्छ। प्रधानमन्त्री शाहको नेतृत्वमा यसलाई ‘मल्टि-मोडल ट्रान्सपोर्ट सिस्टम’मा रूपान्तरण गर्न सकिने पर्याप्त आधारहरू छन्। वर्तमान विश्व परिस्थिति हेर्दा अमेरिका, इजरायल र इरान लगायत खाडी मुलुकमा बढ्दो द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य र आपूर्तिमा ठूलो अनिश्चितता सिर्जना भएको छ। यस्तो अन्तर्राष्ट्रिय संकट र महँगीको मारबाट जोगिन पनि यो रोपवे नेपालका लागि दीर्घकालीन ‘सुरक्षा कवच’ बन्ने निश्चित छ।

प्रधानमन्त्री शाहको योजनाबद्ध नेतृत्वमा यो रोपवेलाई ‘बहुउद्देश्यीय’ बनाउनु आवश्यक छ। यसको कार्यतालिकालाई वैज्ञानिक ढंगले विभाजन गरी रातको समयमा तराईका किसानको खाद्यान्न, तरकारी र निर्माण सामग्रीहरू द्रुत गतिमा ढुवानी गर्ने माध्यम बनाइनु पर्छ। त्यसैगरी, दिनको समयमा यसलाई महाभारत श्रृङ्खलाको मनोरम दृश्य अवलोकन गराउने आधुनिक ‘केबलकार’को रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक ओसार्ने व्यावसायिक मोडलमा लैजान सकिन्छ। यसले गर्दा मुग्लिन र त्रिभुवन राजपथको कष्टकर जाम र सवारी दुर्घटना मात्र घट्ने छैन, बरु विदेशी इन्धनका लागि बाहिरिने अर्बौं रुपैयाँ जोगिएर स्वदेशी ‘सेतो सुन’ (बिजुली) को खपतमा वृद्धि हुनेछ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य जतिसुकै बढे पनि आफ्नै विद्युतीय ऊर्जाबाट चल्ने यो रोपवेले बजारको महँगी नियन्त्रण गर्न र आपूर्ति व्यवस्था सहज बनाउन ऐतिहासिक भूमिका खेल्नेछ। तराईका किसानको पसिना र उत्पादनलाई बिचौलियामुक्त गर्दै सोझै राजधानीको भान्सासम्म जोड्ने यो ‘लाइफलाइन’ ले मुलुकलाई वास्तविक आत्मनिर्भरताको बाटोमा डोर्‍याउनेछ। अबको प्राविधिक बाटो भनेको पुराना टावरहरूको सूक्ष्म परीक्षण गरी आवश्यक ठाउँमा नयाँ ‘हाइ-स्पिड’ केबल सिस्टम र स्वचालित लोड-अनलोड प्रविधि जडान गर्नु हो।

प्रधानमन्त्री शाहले जसरी काठमाडौंको सहरी सौन्दर्यमा साहस र अडान देखाउनुभयो, त्यसरी नै यो रोपवेलाई वैदेशिक ऋणको भार थप्नुभन्दा ‘स्वदेशी पूँजी’ र ‘नेपाली इन्जिनियरिङ’ क्षमता प्रयोग गरी पुनः सञ्चालनमा ल्याउनु हुनेछ भन्ने जनअपेक्षा छ। यो रोपवेको पुनरुत्थान हुनु भनेको केवल एउटा यातायातको साधन चल्नु मात्र होइन, बरु नेपालको इन्जिनियरिङ क्षमताको पुनर्जन्म हुनु र परनिर्भरताको साङ्लो तोडिनु हो। बालेन्द्र शाहको कार्यकालमा हेटौंडाको सामान आकाशै-आकाश काठमाडौं झर्ने र नेपालको मौलिक विकासको मोडल विश्वले देख्ने दिन टाढा छैन भन्ने विश्वासले यतिखेर आम नेपालीको मनमा एउटा सुन्दर र समृद्ध नेपालको चित्र कोरेको छ।


0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?