आगामी तीन दिन पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण देशका पहाडी तथा हिमाली भू-भागमा बदली र वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी पहाडी र तराई भू-भागको मौसम मुख्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम विश्लेषण गर्दा वैशाख २ गते बुधबार दिउँसो कोशी प्रदेशको पहाडी भू-भाग लगायत देशका अन्य हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। कोशी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी र अन्य प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। सोही दिन राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च भू-भागमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैगरी, वैशाख ३ गते बिहीबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा मौसममा बदली आउने देखिन्छ। दिउँसो कोशी प्रदेशका केही स्थान र बागमती तथा गण्डकीका हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगमा बदली रही छिटपुट वर्षा र हिमपातको क्रम जारी रहने पूर्वानुमान गरिएको छ।
वैशाख ४ गते शुक्रबारको मौसममा पनि विशेष परिवर्तन हुने देखिएको छैन। शुक्रबार दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा बदली हुने र केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने देखिन्छ।
यो तीन दिने अवधिभर देशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने र घाम लाग्ने महाशाखाको बुलेटिनमा उल्लेख छ। पहाडी र हिमाली क्षेत्रमा हुन सक्ने मेघगर्जन र हिमपातलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
