आगामी तीन दिनको मौसम पूर्वानुमान: पहाडी भू-भागमा वर्षा र हिमपात, तराईमा ‘तातो दिन’ को सम्भावना
काठमाडौं, १३ वैशाख ।हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावले देशका विभिन्न भागमा आगामी तीन दिनसम्म वर्षा, हिमपात र केही स्थानमा अत्यधिक गर्मी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले कोशी प्रदेश र कर्णालीका हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने लुम्बिनी लगायत अन्य पहाडी क्षेत्रमा आंशिक बदली छ। तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा अहिले मध्यम वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने गर्मी बढ्ने र ‘तातो दिन’ (Heat Wave) हुने सम्भावना देखिएको छ। राती पनि देशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको क्रम जारी रहने पूर्वानुमान गरिएको छ।
भोलि वैशाख १४ गते सोमबारको मौसम
सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशमा बदलीको अवस्था रहनेछ। यी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा पनि आंशिक बदली हुनेछ। तराईका जिल्लाहरू, विशेषगरी लुम्बिनी र सुदूरपश्चिममा सोमबार पनि अत्यधिक गर्मी र तातो हावा चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन भनिएको छ।
पर्सि वैशाख १५ गते मङ्गलबारको मौसम
मङ्गलबारबाट वर्षाको प्रभाव केही विस्तार हुने देखिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका अधिकांश पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। मङ्गलबार राती मधेश प्रदेश लगायत देशका पूर्वी र मध्य भागमा वर्षाको गतिविधि बढ्ने महाशाखाको बुलेटिनमा उल्लेख छ।
देशका विभिन्न स्थानमा हुन सक्ने मेघगर्जन, चट्याङ्ग, वर्षा र हिमपातका साथै तराईमा बढ्दो गर्मी र तातो हावाबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ। पहाडी क्षेत्रमा यात्रा गर्दा र तराईमा दिउँसोको समयमा घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।
