आगामी तीन दिनको मौसम: पूर्वी र मध्य नेपालमा वर्षाको सम्भावना, पश्चिममा ‘तातो दिन’ को असर
काठमाडौँ, १२ जेठ ।
आज मंगलबारको मौसम विश्लेषण गर्दा कोशी, मधेश र बागमती प्रदेश लगायतका पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने मधेश र बागमतीका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। विशेषगरी मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यद्यपि, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भागमा भने अत्यधिक गर्मी अर्थात् ‘तातो दिन’ (Heat Wave) हुने प्रक्षेपण गरिएको छ।
भोलि जेठ १३ गते बुधबार पनि मौसममा खासै ठुलो फेरबदल आउने छैन। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदलीको अवस्था रहनेछ भने कोशी र मधेश प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा हुनेछ। सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रमा भने बुधबार पनि गर्मीको प्रकोप कायमै रहने देखिन्छ। रातीको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यसैगरी, आगामी जेठ १४ गते बिहीबार देशभर साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान छ। कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका साथै मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ। बिहीबार राती भने देशभरको मौसममा बदली भई गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिम नेपालमा बिहीबार पनि तापक्रम उच्च रहने महाशाखाले जनाएको छ।
महाशाखाले वर्षा, हिमपात, मेघगर्जन र हावाहुरीबाट हुन सक्ने जोखिमबाट बच्न तथा पश्चिम नेपालमा बढ्दो गर्मी र तातो हावाबाट जोगिन आवश्यक पूर्वसावधानी अपनाउन सर्वसाधारणमा अपिल गरेको छ।
