देशभर मनसुन सक्रिय: आगामी तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २६ असार ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेका कारण मौसममा उल्लेख्य बदलाव आएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ र यो आगामी दिनमा नेपालको थप नजिक आउने सम्भावना छ। यसका कारण देशभर मनसुन थप सक्रिय हुने देखिएको छ।

हाल देशभरि नै सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज शुक्रबार दिउँसो देशभर अधिकांश बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरू र तराई तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई क्षेत्र र देशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति भने वर्षाको वेग थप बढ्ने देखिन्छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ।

भोलि असार २७ गते शनिबार पनि मौसममा खासै सुधार हुने देखिँदैन। दिउँसो देशभर बदली रही धेरै स्थानमा वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भाग तथा कोशी, सुदूरपश्चिम र गण्डकीका तराई क्षेत्रमा भारी वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ।

यसैगरी आगामी आइतबार (असार २८ गते) पनि देशभर वर्षाको क्रम जारी रहनेछ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ। आइतबार राति भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउन जरुरी देखिन्छ।

लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढेको छ। पहाडी क्षेत्रमा भू-क्षय तथा तराईमा डुबानको समस्या हुनसक्ने भएकाले नदी तटीय क्षेत्र र जोखिमयुक्त बस्तीमा रहेका सर्वसाधारणलाई सतर्क रहन र यातायात तथा दैनिक जनजीवनमा पर्न सक्ने असरप्रति पूर्वतयारी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?