देशभर मनसुन सक्रिय: आगामी तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, ३२ असार ।

हाल देशभर मनसुनी वायुको प्रभावका कारण मौसममा उल्लेख्य बदलाव आएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान आसपास अवस्थित छ। यसैका कारण हाल देशभर साधारणतया बादल लाग्नुका साथै कोशी, मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।

आज बिहीबार दिउँसो र राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। आज देशका पहाडी भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ भने हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको समेत प्रक्षेपण गरिएको छ। विशेषगरी कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका साथै कोशी र बागमतीको हिमाली र लुम्बिनीको तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ।

मनसुनको यो क्रम भोलि साउन १ गते शुक्रबार र साउन २ गते शनिबार पनि निरन्तर रहने देखिएको छ। साउन १ गते देशभर साधारणतया बादल लाग्ने र पहाडी भू-भागका धेरै स्थानमा वर्षा हुने सम्भावना छ। उक्त दिन कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, शनिबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै लुम्बिनी र कर्णालीका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना कायमै रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।

लगातारको वर्षा र केही स्थानमा हुन सक्ने भारी वर्षाका कारण भू-क्षय, पहिरो तथा शहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन र मौसम सम्बन्धी जानकारी लिइरहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?