म कुनै समय किसानको उत्पादन र देशको आवश्यकता बोकेर दौडिन्थेँ, आज आफ्नै मृत्युको कथा बोकेर यही डाँडामाथि झुन्डिरहेको छु…

काठमाडौँबाट हेटौँडा जाँदा होस् वा हेटौँडाबाट काठमाडौँ फर्कंदा—बाटोछेउका हरिया डाँडाबीच अचानक आँखामा पर्ने एउटा दृश्यले मनलाई एकछिन रोकिदिन्छ। जीर्ण फलामका संरचना, पुराना तार र डाँडामाथि झुन्डिएका रोपवेका अवशेषहरू देख्दा लाग्छ, कुनै समय देशको भार बोकेको एउटा इतिहास आज आफ्नै मृत्युको साक्षी बनेर चुपचाप झुन्डिरहेको छ।

त्यो दृश्य देख्नेबित्तिकै मनमा प्रश्न उठिहाल्छ – कुनै समय किसानको उत्पादन, उद्योगको सामान र देशको आवश्यकता बोकेर दौडिएको यो रोपवेलाई हामीले किन यसरी मर्न बाध्य बनायौँ  ?

हेटौँडा–काठमाडौँ रोपवेको कथा आजभन्दा धेरै दशक पुरानो हो। काठमाडौँ र हेटौँडाबीच सडक यातायात सहज नभएको समयमा पहाडको कठिन भूगोल छिचोल्दै सामान ढुवानी गर्ने वैकल्पिक माध्यमका रूपमा यसको परिकल्पना गरिएको थियो।

वि.सं. २०१६ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले काठमाडौँको टेकुमा यसको शिलान्यास गरेका थिए। अमेरिकी सहयोग र प्राविधिक सहकार्यमा निर्माण अघि बढ्यो। कठिन पहाडी भूगोलमा नेपाली श्रमिकको पसिना र प्राविधिकहरूको मेहनत जोडियो। अन्ततः रोपवे निर्माण सम्पन्न भयो।

वि.सं. २०२० साल चैत २६ गते रोपवे नेपाल सरकारलाई हस्तान्तरण भयो र वि.सं. २०२१ साल वैशाख १४ गते तत्कालीन राजा महेन्द्रले यसको औपचारिक उद्घाटन गरे।

त्यसपछि पहाडमाथि तार तानिए। फलामका डब्बाहरू तारमा झुन्डिए। हेटौँडाबाट काठमाडौँतर्फ सामान बोकेर ती डब्बाहरू पहाड, भीर र जंगल पार गर्दै अघि बढ्न थाले।

त्यो समय सडक यातायात आजजस्तो सहज थिएन। हेटौँडा र तराईतिरबाट आउने सामान काठमाडौँसम्म पुर्‍याउनु ठूलो चुनौती थियो। त्यही कठिन समयमा रोपवे राजधानीको आपूर्ति व्यवस्थाको महत्वपूर्ण आधार बन्यो।

त्यो रोपवेले सामान मात्र बोकेको थिएन।

उसले किसानको उत्पादन बोकेको थियो।
उसले उद्योगको उत्पादन बोकेको थियो।
उसले राजधानीको आवश्यकता बोकेको थियो।
उसले हजारौँ नेपालीको श्रम र पसिना बोकेको थियो।
र सबैभन्दा ठूलो कुरा –उसले नेपालको विकासको सपना बोकेको थियो।

समय बित्दै गयो। सडकहरू विस्तार भए। ट्रकहरू बढे। यातायातका नयाँ माध्यम आए। तर रोपवेलाई समयअनुसार सुधार गर्ने, नियमित मर्मतसम्भार गर्ने र नयाँ प्रविधिसँग जोड्ने काम भने कमजोर हुँदै गयो।

क्रमशः यसको सञ्चालन घट्दै गयो। प्राविधिक समस्या थपिँदै गए। व्यवस्थापनका कमजोरी देखिए। अन्ततः वि.सं. २०५४ सालतिर यसको सेवा लगभग ठप्प भयो। वि.सं. २०५५ सालमा विद्युत् प्रणालीमा आएको समस्यापछि सञ्चालन पूर्ण रूपमा प्रभावित भयो।

रोपवे बचाउने प्रयास र सुधारका चर्चा भए पनि दीर्घकालीन समाधान निस्कन सकेन।

अन्ततः वि.सं. २०५८ सालमा हेटौँडा–काठमाडौँ रोपवे पूर्ण रूपमा बन्द भयो।

त्यसपछि रोपवे चलेन।

तर इतिहास भने त्यहीँ झुन्डिएर बसिरह्यो।

आज काठमाडौँ–हेटौँडा सडकबाट यात्रा गर्दा कतै टावर देखिन्छन्, कतै तारका अवशेष, कतै फलामका जीर्ण संरचना। समयले खियाएका ती अवशेष हेर्दा लाग्छ—कसैले हाम्रो इतिहासलाई बिस्तारै मर्न दियो र अन्तिम अवस्थामा पुगेर त्यहीँ डाँडामाथि झुन्ड्याएर छाडिदियो।

सायद यही दृश्यले मनलाई सबैभन्दा धेरै दुखाउँछ।

घाटा भयो भनेर इतिहास पनि घाटामै जानुपर्छ र ?

कुनै संरचना तत्काल नाफामा चलेन भन्दैमा त्यसको ऐतिहासिक मूल्य समाप्त हुँदैन। आज संसारका धेरै पुराना रेल, पुल, कारखाना र रोपवेलाई संरक्षण गरेर पर्यटकीय सम्पदाका रूपमा पुस्तौँपुस्तासम्म जोगाइएको छ। पुरानो प्रविधि हेर्न, इतिहास बुझ्न र पुर्खाको श्रम सम्झन मानिसहरू त्यस्ता ठाउँमा पुग्छन्।

हामीले पनि चाहेको भए हेटौँडा–काठमाडौँ रोपवेको इतिहासलाई त्यसरी जोगाउन सक्थ्यौँ।

पुरानो मार्गका केही संरचना संरक्षण गर्न सक्थ्यौँ। पुराना टावर र डब्बाहरू सुरक्षित राख्न सक्थ्यौँ। रोपवेको इतिहास समेटिएको संग्रहालय बनाउन सक्थ्यौँ। सम्भाव्यता र प्रविधिले साथ दिए आधुनिक मालवाहक रोपवेको रूपमा पुनर्जीवन दिने सम्भावनासमेत खोज्न सक्थ्यौँ।

पर्यटकलाई भन्न सक्थ्यौँ

“हेर्नुस्, सडक यातायात सहज नहुँदा नेपालले पहाडमाथिबाट यसरी आफ्नो उत्पादन र आवश्यकता बोकेको थियो।”

त्यो आफैँमा एउटा जीवित पर्यटन इतिहास बन्न सक्थ्यो।

तर आज हामीसँग कथा छ, संरक्षण गरिएको इतिहास छैन।

काठमाडौँबाट हेटौँडा जाँदा बाटोछेउमा झुन्डिएको त्यो जीर्ण संरचना देख्दा मन भारी हुन्छ। किनकि त्यो फलाम मात्र होइन।

त्यहाँ राजा महेन्द्र /बीपी कोइरालाको समयको विकासको सपना छ।
त्यहाँ तत्कालीन राज्यले गरेको ठूलो पूर्वाधार निर्माणको इतिहास छ।
त्यहाँ हजारौँ नेपाली श्रमिकको पसिना छ।
त्यहाँ किसानको उत्पादन छ।
त्यहाँ नेपालको यातायात इतिहास छ।
र त्यहाँ एउटा सम्भावनालाई समयसँगै जोगाउन नसकेको हाम्रो कमजोरीको कथा पनि छ।

आज त्यो रोपवे चल्दैन।

तर बाटोबाट गुड्ने मानिसले त्यसलाई देख्दा मनमा एउटा प्रश्न भने उठ्छ

“कुनै समय म देश बोकेर हिँडेको थिएँ, आज मलाई किन यसरी मर्न दिइयो?”

सायद अब समय आएको छ- त्यो प्रश्नलाई हावामा हराउन नदिने।

किनकि इतिहास जोगाउनु भनेको पुरानो फलाम जोगाउनु मात्र होइन; आफ्ना पुर्खाको श्रम, पसिना, प्रविधि र देश निर्माणको सपना जोगाउनु हो।

हेटौँडा–काठमाडौँको बाटोमा आज पनि हरिया डाँडामाथि झुन्डिएको त्यो जीर्ण रोपवेले हामीलाई चुपचाप सम्झाइरहेको छ

“कुनै समय म देशको उत्पादन बोकेर दौडिएको थिएँ, आज म आफैँ इतिहासको भार बोकेर झुन्डिरहेको छु।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?