नदेखिएको किसान, नसुनिएको कथा – ‘कृषि सूचना’को अभियानमा आजै जोडिनुहोस्, सुनाउनुहोस् आफ्नो दुःख, मेहनत र सफलताको कथा।

तपाईंको गाउँमा लुकेको किसानको कथा हामीलाई पठाउनुहोस्

किसानका दुःख, सुख, संघर्ष, समस्या, समाधान र सफलताका कथा आम नागरिकसम्म पुर्‍याउँदै आएको ‘कृषि सूचना’ले अब आफू पुग्न नसकेका किसानका कथा स्वयं किसानबाटै संकलन गर्ने अभियान अघि बढाएको छ।

लामो समयदेखि किसानका घर, खेतबारी र गोठसम्म पुगेर उनीहरूका दुःख, सुख, समस्या, समाधान, मेहनत, संघर्ष र सफलताका कथा संकलन तथा सम्प्रेषण गर्दै आएको ‘कृषि सूचना’ले अब आफू पुग्न नसकेका गाउँ–बस्तीका किसानलाई समेत यस अभियानमा जोड्ने भएको छ।

कृषिमा भइरहेका सकारात्मक परिवर्तनसँगै गाउँ–गाउँमा किसानले अपनाइरहेका नयाँ प्रविधि, आधुनिक कृषि प्रणाली, स्थानीय ज्ञान र सीप, मौलिक कृषि अभ्यास, नयाँ उत्पादन तथा सफल कृषि उद्यमको खोजी गरी आम नागरिकमाझ पुर्‍याउनु अभियानको मुख्य उद्देश्य हो।

धेरै किसानले आफ्नो खेतबारीमा उदाहरणीय काम गरिरहेका भए पनि उनीहरूको मेहनत र सफलताको कथा अझै व्यापक रूपमा सार्वजनिक हुन सकेको छैन। भौगोलिक दूरी, सञ्चारको पहुँच तथा सामाजिक सञ्जाल प्रयोग गर्न नसक्ने अवस्थाका कारण कतिपय किसानका कथा उहाँहरूको खेतबारीमै सीमित छन्।

तपाईंको वरपर पनि एउटा प्रेरणादायी किसान हुनुहुन्छ कि ?

तपाईंको खेतबारी, गाउँघर वा छिमेकमै यस्ता सच्चा किसान हुनुहुन्छ, जो वर्षौंदेखि मेहनत गरेर कृषि कर्ममा लागिरहनुभएको छ ? उहाँ आफ्नो मेहनत र कथा आफैं सामाजिक सञ्जाल वा फोनको माध्यमबाट हामीसम्म पुर्‍याउन सक्नुहुन्न भने तपाईंले उहाँको कथा हामीसम्म पुर्‍याउन सक्नुहुन्छ।

यदि तपाईं सामाजिक सञ्जाल तथा मोबाइल फोनको माध्यम प्रयोग गर्न सक्नुहुन्छ भने, आफ्नो वरपरका किसानको खेतबारीमा पुग्नुहोस्, उहाँको मेहनत र उत्पादनलाई नजिकबाट बुझ्नुहोस् र उहाँको अनुमति लिएर तस्बिर, भिडियो तथा कथा ‘कृषि सूचना’सम्म पठाइदिनुहोस्।

तपाईंले पठाएको एउटा तस्बिर, केही शब्दको विवरण वा एउटा छोटो भिडियोले पनि वर्षौंदेखि माटोमा पसिना बगाइरहेका अन्नदाता किसानको मेहनतलाई हजारौँ मानिससम्म पुर्‍याउन सक्छ। तपाईंको यो सानो प्रयासले किसानको उत्पादनलाई बजारसम्म चिनाउन मात्र होइन, अन्नदाताको मुहारमा केही खुसी र आफ्नो मेहनतप्रति गर्वको अनुभूति पनि थप्न सक्छ।

आफ्नो कथा होस् वा वरपरका किसानको – हामीसम्म पठाउनुहोस्

यदि तपाईं स्वयं कृषि पेसामा आबद्ध हुनुहुन्छ भने आफ्नो नाम, ठेगाना, कृषि पेसामा आबद्ध भएको अवधि, उत्पादनको विवरण, अपनाइरहेको कृषि प्रविधि, भोगिरहेका समस्या, समाधानका उपाय, संघर्ष तथा सफलताको कथा हामीलाई पठाउनुहोस्।

त्यसैगरी, तपाईंले चिनेका वा आफ्नो गाउँघरमा देखेका किसानको कृषि कर्म, उत्पादन र मेहनतको कथा पनि उहाँको स्वीकृतिमा हामीलाई पठाउन सक्नुहुनेछ।

खेतबारी वा गोठमा उत्पादन भएको कृषि उपजको सफा, स्पष्ट र गुणस्तरीय तस्बिर समेत पठाउन सकिनेछ। सम्भव भएसम्म किसान स्वयं आफ्नो उत्पादनसँगै स्पष्ट देखिने तस्बिर पठाउन अनुरोध गरिन्छ।

प्राप्त विवरण, अनुभव, तस्बिर तथा भिडियोका आधारमा ‘कृषि सूचना’ले ‘कृषक कथा’ तयार गरी निःशुल्क प्रचार–प्रसार गर्नेछ। साथै, किसानले उत्पादन गरेका कृषि उपजलाई सम्भावित उपभोक्ता तथा बजारसम्म चिनाउन निःशुल्क बजारीकरणमा समेत सहजीकरण गर्नेछ।

आजै आफ्नो वरपरका किसानको कथा खोज्नुहोस्

तपाईंको गाउँमा, तपाईंको छिमेकमा, तपाईंको खेतबारीको छेउमै कुनै किसान वर्षौंदेखि माटोसँग संघर्ष गरिरहनुभएको हुन सक्छ। उहाँको कथा तपाईंले देख्नुभएको छ भने अब अरूलाई पनि देखाऔँ।

हामी पुग्न नसकेको ठाउँबाट तपाईं पुग्नुहोस्।
उहाँले भन्न नसकेको कथा तपाईं सुनाउनुहोस्।
नदेखिएको मेहनत तपाईंले देखाइदिनुहोस्।

एउटा किसानको कथा हजारौँ किसानका लागि प्रेरणा बन्न सक्छ।

विवरण तथा तस्बिर पठाउने माध्यम

WhatsApp: 9841172090
Email: Krishisuchana@gmail.com
वा ‘कृषि सूचना’को यही म्यासेज बक्समा पठाउन सक्नुहुन्छ।

आधुनिक कृषि : हाम्रो खोज 

नदेखिएका किसानका कथा खोज्दै, नदेखिएको मेहनत देखाउँदै, कृषि सम्भावनालाई उजागर गर्दै।

कृषि सूचना – किसानको घरदेखि खेतबारीसम्म, किसानको आवाजदेखि बजारसम्म।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?