कृषकलाई करिब पाँच करोड अनुदान वितरण गरिँदै

नवलपुर (नवलपरासी), ५ असोज : कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले करिब रु पाँच करोड अनुदान वितरण गर्नेगरी कृषकसमक्ष प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

कार्यालयले विभिन्न १० शीर्षकमा जिल्लाका कृषकलाई अनुदान वितरण गर्ने तयारी गरेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत राजेश्वर सिलवालका अनुसार आर्थिक वर्ष २०८३/ ८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार रु चार करोड ७७ लाख ५० हजार बराबरको अनुदान वितरण गर्न लागिएको हो । वितरण गर्ने अनुदानका लागि जिल्लाभित्रका कृषक, कृषि फर्म, कृषि कम्पनी, कृषक समूह तथा कृषि सहकारी संस्थाले असोज १३ गतेसम्म प्रस्ताव पेस गर्न सक्ने उहाँले बताउनुभयो । कार्यालयले ९५ हेक्टर क्षेत्रफलमा समुदायस्तरमा प्रशोधनयोग्य÷खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि रु एक करोड २३ लाख ५० हजार अनुदान वितरण गर्ने उहाँले जानकारी दिनुभयो ।

फलफूल बगैँचा सुदृढीकरण तथा क्षेत्रफल विस्तार कार्यक्रमका लागि कार्यालयले रु ३५ लाख बजेट विनियोजन गरेको छ । जिल्लाको ५० हेक्टर क्षेत्रफलमा खाद्यान्न बाली उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि रु ५० लाख, १४० हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन प्रवर्द्धनका लागि रु एक करोड ४० लाख, तेलहन तथा दलहन बाली प्रवर्द्धन कार्यक्रमका लागि रु ५० लाख, ६ हेक्टर क्षेत्रफलमा आत्मनिर्भरताको लािग बीउ उत्पादन प्रवद्र्धन कार्यक्रमका लागि रु नौ लाख, लोकमार्ग तथा करिडोर केन्द्रित कृषि उत्पादन एवम् प्रवर्द्धन कार्यक्रमका लागि रु २० लाख विनियोजन गरिएको कार्यालय प्रमुख सिलवालले बताउनुभयो ।

रैथाने तथा स्थानीय बाली विकास कार्यक्रमका लागि रु १५ लाख, निर्यातजन्य कृषि वस्तु प्रवर्द्धन कार्यक्रमका लागि रु २० लाख, प्राङ्गारिक कृषि प्रवद्र्धन (सङ्घीय सशर्त) कार्यक्रमका लागि रु १५ लाख अनुदान दिइने गरी प्रस्ताव आह्वान गरिएको उहाँले बताउनुभयो । कार्यालयले प्राङ्गारिक कृषि प्रवर्द्धन (सङ्घीय सशर्त) कार्यक्रमका लागि ५० देखि ८५ प्रतिशत अनुदान तथा आत्मनिर्भरताको लािग बीउ उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि ५० देखि ७५ प्रतिशत अनुदान वितरण गर्ने उल्लेख गर्दै अन्य आठ वटा शीर्षकमा कार्यालयले ५० देखि ९० प्रतिशतसम्म अनुदान वितरण गर्ने कार्यालय प्रमुख सिलवालले जानकारी दिनुभयो ।

कार्यालयले अनुदान वितरणका लागि मापदण्ड र कार्यविधि तयार पारेको भन्दै सोही परिधिभित्र रहेर अनुदान वितरण गरिने सिलवालले बताउनुभयो । अनुदानका लागि प्रस्ताव पेस गर्दा तोकिएको ढाँचामा प्रस्ताव फारम भर्नुपर्ने, कृषि फर्म, कम्पनी, कृषक समूह वा कषि सहकारी संस्थाको हकमा दर्ता प्रमाणपत्र तथा पानको प्रतिलिपि एवम् नवीकरण प्रमाणपत्रको प्रतिलिपि र अघिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

कृषक समूह वा कृषि सहकारी संस्थाको हकमा कार्यक्रममा आवेदन पेस गर्नेसम्बन्धी निर्णय प्रतिलिपि, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनीको लालपुर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए मापदण्डमा उल्लेख भएअनुसार समायावधी भएको जग्गा करारनामा सम्झौताको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको कृषि शाखा वा कार्यक्रम सञ्चालन हुने थानको वडा कार्यालयको सिफारिस पत्र आवश्यक पर्ने वरिष्ठ कृषि विकास अधिकृत सिलवालले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments