बारीदेखि कालीमाटीसम्म केराको मूल्यमा ठूलो अन्तर; किसानले पाउने भाउदेखि अन्य तरकारीको बजार मूल्यसम्म, हेर्नुहोस् पूरा सूची

काठमाडौँ, ८ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि विभिन्न कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।

चितवनका किसानले उत्पादन गरेको केरा प्रतिकोसा रु ३ देखि ४ मा बेच्न बाध्य भइरहेका छन्, तर त्यही नेपाली केरा काठमाडौँको कालीमाटी बजारमा दर्जनको रु १५० देखि रु २०० सम्म बिक्री भइरहेको छ। किसानले उत्पादनको उचित मूल्य नपाउने तर उपभोक्ताले बजारमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले केराको मूल्य निर्धारणमा बीचका तह हाबी भएको देखिन्छ।

नेपाल केरा उत्पादक महासङ्घका अनुसार केही दिनअघिसम्म प्रतिकोसा रु ९ सम्ममा बिक्री भएको केरा अहिले रु ३ देखि ४ मा झरेको हो। मूल्य घटेपछि किसानले उत्पादन गरेको केरा बिक्री गर्न नसक्दा बारीमै बिग्रिने अवस्था आएको बताएका छन्। गत वर्षदेखि केरा आयात रोकिएपछि बजार राम्रो हुने आशामा किसानले खेती विस्तार गरेका थिए।

यता, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बिहीबारको मूल्यसूचीमा नेपाली केरा दर्जनको न्यूनतम रु १५० र अधिकतम रु २०० सम्ममा किनबेच भइरहेको छ। किसानले पाउने मूल्य र कालीमाटीमा देखिएको मूल्यबीचको अन्तर हेर्दा बारीबाट बजारसम्म पुग्दा केराको मूल्यमा कति तह र लागत थपिन्छ भन्ने प्रश्न उठेको छ। उत्पादनमा पसिना बगाउने किसानले न्यून मूल्य पाउने र उपभोक्ताले भने त्यही उत्पादनका लागि बढी रकम तिर्नुपर्ने अवस्थाले बिचौलिया तथा बजार व्यवस्थापनको भूमिकालाई समेत बहसमा ल्याएको छ।

समितिका अनुसार, गोलभेँडा ठूलो नेपाली प्रतिकेजी न्यूनतम रु ७० देखि अधिकतम रु ८०, भारतीय ठूलो गोलभेँडा रु ८० देखि रु ९०, सानो लोकल गोलभेँडा रु ५० देखि रु ६० तथा सानो टनेल गोलभेँडा रु ६० देखि रु ७८ सम्म रहेको छ।

त्यसैगरी, रातो लाम्चो आलु प्रतिकेजी रु ५२ देखि रु ५७, रातो गोलो आलु रु ४८ देखि रु ५३, रातो मुडे आलु रु ४८ देखि रु ५३ तथा भारतीय रातो आलु रु ४५ देखि रु ४८ सम्म रहेको समितिले जनाएको छ। सुकेको भारतीय प्याज प्रतिकेजी रु ८५ देखि रु ९० सम्म रहेको छ।

यसैगरी, लोकल गाजर प्रतिकेजी रु १०० देखि रु १३० र तराईको गाजर रु ८० देखि रु ९० सम्म रहेको छ। लोकल बन्दा रु ४० देखि रु ५०, स्थानीय काउली रु ९० देखि रु ११०, लोकल काक्रो रु ३० देखि रु ४०, हाइब्रिड काक्रो रु १५ देखि रु २० तथा लोकलक्रस काक्रो रु ३० देखि रु ४० सम्म रहेको छ।

रातो मूला प्रतिकेजी रु ३० देखि रु ४० र सेतो हाइब्रिड मूला रु ४० देखि रु ५० सम्म रहेको छ। लाम्चो भन्टा रु ३० देखि रु ४० तथा डल्लो भन्टा रु ४० देखि रु ५० सम्म रहेको छ।

तने बोडी प्रतिकेजी रु ४० देखि रु ५०, मकै बोडी रु ९० देखि रु १००, लोकल घिउ सिमी रु ६० देखि रु ७०, हाइब्रिड घिउ सिमी रु ६० देखि रु ७० तथा टाटे सिमी रु ७० देखि रु ८० सम्म रहेको छ। भटमासकोशा प्रतिकेजी रु १०० देखि रु १३० सम्म रहेको समितिले जनाएको छ।

यसैगरी, तितो करेला प्रतिकेजी रु ६० देखि रु ७०, लौका रु ५० देखि रु ६०, लोकल परवर रु ६० देखि रु ७०, तराई परवर रु ७० देखि रु ८०, चिचिण्डो रु २० देखि रु ३० तथा घिरौला रु ३० देखि रु ४० सम्म रहेको छ। झिगूनी प्रतिकेजी रु ५० देखि रु ६० सम्म रहेको छ।

पाकेको फर्सी प्रतिकेजी रु ६० देखि रु ७०, हरियो लाम्चो फर्सी रु ८० देखि रु ९० तथा हरियो डल्लो फर्सी रु ३० देखि रु ४० सम्म रहेको छ। भिण्डी रु ५० देखि रु ६०, सखरखण्ड रु १०० देखि रु १२० तथा पिंडालू रु ६० देखि रु ७० सम्म रहेको छ। स्कूस प्रतिकेजी रु १० देखि रु २० सम्म रहेको छ।

सागपाततर्फ रायो साग प्रतिकेजी रु ६० देखि रु १००, पालुङ्गो साग रु ८० देखि रु १२०, तोरीको साग रु ५० देखि रु ८०, हरियो प्याज रु १५० देखि रु २०० तथा जिरीको साग रु ८० देखि रु १२० सम्म रहेको छ।

कन्य च्याउ प्रतिकेजी रु २०० देखि रु २३०, डल्ले च्याउ रु ४५० देखि रु ५००, राजा च्याउ रु ३०० देखि रु ३३० तथा सिताके च्याउ रु ८०० देखि रु १ हजारसम्म रहेको छ। कुरीलो प्रतिकेजी रु ५०० देखि रु ६०० र न्यूरो रु ९० देखि रु १०० सम्म रहेको समितिले जनाएको छ।

ब्रोकाउली प्रतिकेजी रु २५० देखि रु ३००, चुकुन्दर रु ६० देखि रु ७०, सजिवन रु २०० देखि रु २५० तथा रातो बन्दा रु ४० देखि रु ५० सम्म रहेको छ। सेलरी प्रतिकेजी रु २५० देखि रु ३५० तथा पार्सले रु २ हजार ४०० देखि रु २ हजार ८०० सम्म रहेको छ।

सौफको साग प्रतिकेजी रु ८० देखि रु १२०, पुदीना रु ६०० देखि रु ७००, गान्टे मूला रु ८० देखि रु १२०, इमली रु १६० देखि रु १८०, तामा रु १४० देखि रु १६०, तोफु रु १४० देखि रु १६० तथा गुन्द्रुक रु ३०० देखि रु ३५० सम्म रहेको छ। रुख टमाटर प्रतिकेजी रु १०० देखि रु १५० सम्म रहेको छ।

फलफूलतर्फ, फुजी स्याउ प्रतिकेजी रु ३०० देखि रु ३५०, जुम्लाको स्याउ रु २५० देखि रु ३५० तथा मुस्ताङको स्याउ रु १३० देखि रु १६० सम्म रहेको छ।

त्यसैगरी, नेपाली केरा दर्जनको रु १५० देखि रु २०० तथा मालभोग केरा दर्जनको रु १०० देखि रु १५० सम्म रहेको छ। कागती प्रतिकेजी रु २०० देखि रु ३००, अनार रु २०० देखि रु ३००, हरियो तरबुजा रु ६० देखि रु ७०, मौसम रु १०० देखि रु १५० तथा जुनार रु १५० देखि रु २०० सम्म रहेको समितिले जनाएको छ।

भुईँकटहर प्रतिगोटा रु १५० देखि रु २०० तथा रुख कटहर प्रतिकेजी रु ४० देखि रु ५० सम्म रहेको छ। निबुवा प्रतिकेजी रु ५० देखि रु ६०, लोकल नासपाती रु ९० देखि रु १०० तथा चाइनिज नासपाती रु २०० देखि रु २५० सम्म रहेको छ।

नेपाली मेवा प्रतिकेजी रु ७० देखि रु ८० तथा भारतीय मेवा रु १०० देखि रु १२० सम्म रहेको छ। अम्बा प्रतिकेजी रु १०० देखि रु २००, लप्सी रु ५० देखि रु ६०, किवी रु ३५० देखि रु ४००, शरीफा रु २०० देखि रु २५०, आभोकाडो रु ३०० देखि रु ३५० तथा अमला रु ८० देखि रु १०० सम्म रहेको छ।

काँचो नरिवल प्रतिकेजी रु ६० देखि रु ८० तथा हरियो नरिवल रु १५० देखि रु १७० सम्म रहेको छ। नेपाली ड्रागन फ्रुट प्रतिकेजी रु ५०० देखि रु ६०० सम्म रहेको समितिले जनाएको छ।

त्यसैगरी, अदुवा प्रतिकेजी रु २०० देखि रु २३०, सुकेको खुर्सानी रु ५०० देखि रु ५५०, हरियो लाम्चो खुर्सानी रु ९० देखि रु १००, हरियो बुलेट खुर्सानी रु ९० देखि रु १०० तथा हरियो माछे खुर्सानी रु ७० देखि रु ८० सम्म रहेको छ।

हरियो अकबरे खुर्सानी प्रतिकेजी रु ८० देखि रु १५० तथा भेडे खुर्सानी रु ७० देखि रु ८० सम्म रहेको छ। हरियो लसुन प्रतिकेजी रु २५० देखि रु ३००, हरियो धनियाँ रु १०० देखि रु १५०, सुकेको चाइनिज लसुन रु २२० देखि रु २६० तथा सुकेको नेपाली लसुन रु २०० देखि रु २३० सम्म रहेको छ।सुकेको छ्यापी प्रतिकेजी रु १८० देखि रु २०० तथा हरियो छ्यापी रु १५० देखि रु २०० सम्म रहेको छ।

माछातर्फ सुकेको माछा प्रतिकेजी रु ८०० देखि रु १ हजार, ताजा रहु माछा रु ३४० देखि रु ३७०, बचुवा माछा रु ३०० देखि रु ३४० तथा छडी माछा रु ३२० देखि रु ३५० सम्म रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?