बाँझो जमिनमा अब कफी, आरुबखडा र टिमुर, कृषि पर्यटनबाट गाउँमै आम्दानी बढाउँदै लमजुङको पुमा
पुमा गाउँ (लमजुङ), ८ असोजः
समुन्द्री सतहदेखि करिब एक हजार ६०० मिटरको उचाइमा रही अन्नपूर्ण र मनास्लुलगायत हिमशृङ्खलाहरूको सुन्दर दृश्यावलोकन गर्न सकिने यो गाउँमा कृषि पर्यटनका माध्यमबाट स्थानीयवासीको आयआर्जन अभिवृद्धि गराउँदै अधिकतम पर्यटकहरू आकर्षित गर्ने लक्ष्य राखिएको पुमा एग्रो प्रालिका अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिनुभयो ।
पुमा गाउँमा यसअघि नै सामुदायिक घरबास ‘होमस्टे’को पूर्वाधार विकास भइसकेको बताउँदै उहाँले भौगोलिक एवम् प्राकृतिक रुपमा कृषि, पशुपालन तथा पर्यटनका लागि सम्भावनायुक्त क्षेत्र भए पनि पर्याप्त लगानी, आधुनिक कृषि प्रविधि, पूर्वाधार, बजार व्यवस्थापन तथा जनशक्ति अभावका कारण यो क्षेत्रपछि परेको उहाँले बताउनुभयो । “गाउँमा रहेको ठूलो भूभाग खेतीयोग्य भए पनि पूर्ण रुपमा उपयोग गर्न नसकिएको वास्तविकतामा यसलाई कृषि पर्यटनका माध्यमबाट उपयोग गर्न खोजिएको हो,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार पुमा एग्रो प्रालिमार्फत यहाँको करिब एक हजार ४०० रोपनी जग्गा (भूमिदान, खरिद र भाडामा लिएर) लाई चरणबद्ध रुपमा उपयोग गर्ने योजना अघि सारिएको छ । सदरमुकाम बँेसीसहरबाट जम्मा १० किलोमिटरको दूरीमा पुमा गाउँ रहेको छ । यहाँको जग्गालाई चरणबद्ध रुपमा उपयोग गर्दै कफी, आरुबखडा, टिमुर, तरकारी तथा अन्य स्थानीय उत्पादनको व्यावसायिक खेती विस्तार गर्ने लक्ष्य राखिएको छ ।
त्यस्तै, मौरीपालन, स्थानीय प्रजातिका कुखुरा, बाख्रा तथा भैँसीपालन र स्थानीय उत्पादनमा आधारित भान्साघर सञ्चालन गरी उत्पादनदेखि बजारसम्मको मूल्य शृङ्खला निर्माण गर्ने योजना राखिएको छ । भूमि उपयोग योजनाअन्तर्गत कफी र आरुबखडा बिरुवा एक हजार रोपनीमा लगाइने बताउँदै उहाँले टिमुर र मौरीपालन २०० रोपनीमा गर्न लागिएको बताउनुभयो ।
त्यस्तै, कुखुरा र पशुपालन एक सय रोपनीमा, भान्सा घर र तरकारी एक सय रोपनीमा विस्तार गरिने गुरुङले जानकारी दिनुभयो । यस वर्षदेखि सुरु गर्न लागिएको परियोजनाअन्तर्गत उत्पादनका लागि पाँचवर्षे योजना अघि सारिएको छ । संस्थाले कफी खेतीका लागि पहिलोदेखि पाँचौँ वर्षसम्म क्रमशः १० हजार, २० हजार, २० हजार र ३० हजार गरी ५० हजार कफीका बोट लगाउने लक्ष्य राखेको छ । आरुबखडा पाँच वर्षमा हरेक वर्ष दुई÷दुई हजार गरी १० हजारको सङ्ख्यामा लगाउने योजना राखेको छ भने टिमुर हरेक वर्ष चार÷चार सय बोटका दरले दुई हजार लगाउने योजना छ ।
त्यस्तै, पाँच वर्षमा सुरुको वर्ष ५० वटा मौरीघार वितरण गरिने र त्यसपछि तीन वर्ष १००÷१०० घार तथा पछिल्लो वर्ष १५० वटा मौरी घार वितरण गर्ने योजना छ । स्थानीय जातका कुखुरापालनका लागि पहिलो दुुई वर्ष दुई हजार ४००, तेस्रो वर्ष तीन हजार र पछिल्ला दुई वर्ष तीन हजार ६०० सङ्ख्यामा पालिने उल्लेख गरिएको छ ।
त्यस्तै, दुहुनो भैँसी दोस्रो वर्षदेखि दुई÷दुई वटा र पछिल्ला दुई वर्ष तीन÷तीन वटा तथा दुहुनो बाख्रा दोस्रो र तेस्रो वर्ष ३०÷३० वटा चौथो र पाँचौँ वर्ष ५०÷५० वटा थप्ने योजना छ । परियोजनाअन्तर्गत सबै कामका लागि रु चार करोड २४ लाख लागत अनुुमान गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
प्रालिका सञ्चालक सदस्य एवम् कार्यपालिका सदस्य सुकमाया गुरुङका अनुसार परियोजनाअन्तर्गत कृषि पर्यटनका माध्यमबाट युवा तथा महिलालाई उद्यमी बन्न प्रेरित गर्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, कृषि उत्पादन वृद्धि, स्थानीय अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ । बाँझो जमिनको सदुपयोग, गाउँबाट हुने बसाइँसराइ न्यूनीकरण गर्दै सहर झरेका स्थानीयलाई गाउँमा बसाइँ फर्काउने अभियानका साथ यो पहल गरिएको उहाँले जानकारी दिनुभयो ।
गाउँमा २०७५ सालदेखि घरबास कार्यक्रम पनि सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले परियोजनाको सुरुआतीमा भान्छाघर निर्माण गरी त्यसलाई सञ्चालन गरिने बताउनुभयो । संंस्थाले आगामी पाँच वर्षमा २७ जनालाई स्थायी र धैरैलाई अस्थायी रोजगारी प्रदान गर्ने तथा स्थानीय युवा र महिला किसानका साथै समुदायलाई समेत उद्यमसँग जोड्ने लक्ष्य लिएको छ ।
यस परियोजनालाई दीर्घकालीन रुपमा कृषि, पशुपालन, मौरीपालन, कृषि प्रशोधन, भान्सा घर तथा होमस्टे सञ्चालन र पर्यटनलाई एकै ठाउँमा जोडिएको नमूना एकीकृत कृषि उद्यमका रुपमा विकास गर्ने परिकल्पना रहेको उहाँको भनाइ छ ।
अध्यक्ष गुरुङका अनुसार यस गाउँमा स्थानीयले विगत चार वर्षयता आरुबखडाको वाइन, जुस, जाम आदि बनाउने प्रयास थालिसकेका छन् । परियोजनाअन्तर्गत आरुबखडाको खेती विस्तार गर्दै यसबाट बन्ने वाइन, जुस, जामलगायत परिकारहरू बनाइने उहाँले बताउनुभयो ।
आरुबखडासहित यसबाट बन्ने परिकारका साथै स्थानीय उत्पादनलाई ‘ब्रान्डिङ’ गरी बजारमा प्रतिस्पर्धी र उच्च मूल्य प्राप्त गर्ने कृषि उद्यम निर्माण गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । गाउँमा आउने पर्यटकलाई स्थानीय उत्पादनकै परिकार खुवाउनाका साथै यहाँबाट जाँदा लैजाने कोसेली पनि गाउँमा नै तयार गर्ने लक्ष्य राखिएको छ । गाउँमा उत्पादित आरुबखडा, कफी, टिमुर, तरकारी, मह, दूध, मासु तथा स्थानीय कुखुराको बजारीकरणलाई पनि व्यवस्थित बनाउने गरी सोच अघि बढाइएको उहाँले बताउनुभयो ।
कृषि पर्यटनका माध्यमबाट स्थानीय उत्पादन वृद्धि हुनाका साथै रोजगारी सृजना, स्थानीय आय वृद्धि, बाँभmो जमिनको प्रयोग र गाउँको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय कृषक तथा समुदायलाई आधुनिक कृषि प्रविधि, सीप र उद्यमशीलतासँग जोड्नाका साथै कृषि, पशुपालन, मौरीपालन र ग्रामीण पर्यटनलाई जोडेर कृषि पर्यटनको नमूना गन्तव्य विकास गर्ने लक्ष्य लिइएको छ । परियोजना सम्पन्न भएपछि प्रालिमार्फत हुने नाफाको २० प्रतिशत रकमको कल्याणकारी कोष स्थापना गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । यो कोष एकल महिला÷पुरुष, गरिब तथा जेहेन्दार प्रतिशत मुनाफा गाउँमा बस्ने प्रत्येक घरधुरीलाई दामासाहीले पुमा गाउँ टोल सुधार समितिको सिफारिसमा वितरण गरिनेछ ।
परियोजना आर्थिक रुपमा सम्भावनायुक्त, सामाजिक रुपमा उपयोगी, वातावरणीय रुपमा दिगो र स्थानीय विकासका दृष्टिले महत्वपूर्ण रहेको हुँदा सम्बन्धित सरकारी निकायहरूबाट आवश्यक साथ र सहयोग प्राप्त हुने विश्वास लिइएको उहाँले बताउनुभयो । पुमा गाउँ टोल सुधार समितिका अध्यक्ष गणेशकुमार गुरुङका अनुसार पुमा गाउँ कृषि पर्यटनसँगै धार्मिक पर्यटनमा पनि उत्तिकै सम्भावना बोकेको गाउँ हो ।
गाउँको सिरानमा रहेको कन्यादेवी मन्दिर यहाँको प्राचीन धार्मिक महत्वको तीर्थस्थलका रुपमा रहेको उहाँले बताउनुभयो । कृषि पर्यटनको विकाससँगै यस मन्दिरको धार्मिक महत्वलाई समेत जोड्दै धार्मिक पर्यटनको गन्तव्यका रुपमा पनि विकास गर्न सकिने बताउँदै उहाँले मन्दिरमा पूजापाठ गर्नाले मनोकामना पूरा हुने विश्वास रहेको जानकारी दिनुभयो । उक्त विश्वास व्यवहारमा नै परिणत भएको प्रत्यक्ष देखे भोगेको उहाँको अनुभव छ ।
यहाँ घरबासमा आउने पर्यटकलाई स्थानीयले गाउँमा नै उत्पादन भएका परिकार खुवाउने गरेका छन् । कोदोको ढिँडो, रोटी, लोकल कुखुराको मासु, स्थानीय मदिरा, रातो भट्ट, मकै, फर्सी, बन्दा, काउली, ब्रोकाउली, आलुलगायत कृषिजन्य उत्पादन गाउँमा नै फलाउने गरेका स्थानीयले मौसमअनुसार यहीँ वरपर पाइने कुरिलो, निउरो, सिस्नोलगायत परिकार पनि खुवाउने गरेका छन् ।
गाउँको माथि रहेको बाघ बाँध्ने ढुङ्गा यहाँको अर्को आकर्षण भएको उहाँले बताउनुभयो । प्राचीनकालदेखि नै जमिनमा गाडिएको यो ढुङ्गा जमिनमाथि नै १० फुट अग्लो रहेको छ । यस ठाउँबाट लमजुङ हिमाल, अन्नपूर्ण, मनास्लुलगायतमा हिमशृङ्खलाहरू नाङ्गो आँखाले देख्न सकिन्छ । नगरपालिकाको रु चार लाख सहयोगमा गाउँबाट बाघ बाँध्ने ढुङ्गासम्म बाटो लगिएको छ । कृषि पर्यटनसँगै यहाँको प्रकृति, संस्कृति र धार्मिक सम्पदालाई पर्यटकीय रुपमा उपयोग गर्ने आफूहरूको दीर्घकालीन सोच रहेको उहाँको भनाइ छ ।
