वनमा खेर गइरहेको काठ अब उपयोगमा ल्याइने, स्वदेशी उत्पादन बढाएर काठ आयात घटाउने सरकारको तयारी
कपिलवस्तु, १७ असोजः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले कार्ययोजना निर्माण गरिरहेको बताउनुभएको छ । कपिलवस्तुको तिलौराकोट साझेदारी वनको शुक्रबार अनुगमनका क्रममा उहाँले नेपालका वनमा काठ कुहिने र धोद्रिने तर विदेशबाट काठ आयात हुने अवस्था अन्त्य गर्न कार्ययोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । मन्त्री चौधरीले वनको दिगो व्यवस्थापनसँगै स्वदेशी काठको उत्पादन र उपभोग बढाउन सरकारको प्राथमिकता रहेको जानकारी दिनुभयो ।
उहाँले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै विदेशी काठको आयात प्रतिस्थापनका लागि स्वदेशी काठको उत्पादन र उपभोग बढाउने विषय समेटिएको जानकारी दिनुभयो । “नेपालको वनमा रहेको काठको व्यवस्थित व्यवस्थापन र उपयोगका लागि कार्ययोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ,” उहाँले भन्नुभयो ।
मन्त्री चौधरीले काठ आयात प्रतिस्थापनका लागि देशका विभिन्न स्थानमा भएका सफल अभ्यासको अध्ययन तथा अनुगमन भइरहेको बताउनुभयो । स्वदेशी काठको उत्पादन, व्यवस्थापन, बिक्री तथा उपभोगलाई सहज बनाउन आवश्यक नीतिगत व्यवस्था गर्न सामुदायिक वन, साझेदारी वन र डिभिजन वन कार्यालयको स्थलगत अध्ययन भइरहेको उहाँको भनाइ छ ।
नेपालमा आवश्यकताअनुसार काठ उपलब्ध हुने अवस्था हुँदाहुँदै पनि विदेशबाट काठ आयात भइरहेको उल्लेख गर्दै मन्त्री चौधरीले स्वदेशी काठको व्यवस्थित उपयोग र खपत बढाउनुपर्नेमा जोड दिनुभयो ।
अनुगमन टोलीमा लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीसहित सङ्घीय तथा प्रदेश मन्त्रालयका अधिकारी सहभागी हुनुहुन्थ्यो । टोलीले तिलौराकोट साझेदारी वन उपभोक्ता समूह र मायादेवी साझेदारी वन उपभोक्ता समूहको स्थलगत अवलोकन गरेको थियो ।
सो अवसरमा तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जयप्रकाश पाण्डेयले वनको वार्षिक आम्दानी करिब पाँच करोड रुपियाँ रहेको जानकारी दिनुभयो । वन संरक्षणसँगै स्थानीय रोजगारी सिर्जना, उपभोक्ताको काठजन्य आवश्यकता पूरा गर्ने र आम्दानीका गतिविधि सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
अध्यक्ष पाण्डेयले स्वदेशी काठको व्यवस्थित उत्पादन र उपयोगलाई सरकारले प्राथमिकता दिए नेपाल काठमा आत्मनिर्भर बन्न सक्ने र आयात घटाउन सकिने बताउनुभयो ।
अनुगमन टोलीलाई डिभिजन वन कार्यालय कपिलवस्तुका वरिष्ठ वन अधिकृत दीपक केसी, तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष पाण्डेय, मायादेवी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश जयसवाल र वन निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक ईश्वरीप्रसाद पौडेललगायतले साझेदारी वनमा भइरहेको कामबारे जानकारी गराउनुभएको थियो ।
उहाँहरूले कपिलवस्तुमा संवर्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनका अभ्यास, वन संरक्षण र काठ उत्पादनका विषयमा जानकारी गराउनुभएको थियो । नीतिगत समस्याका कारण वनमा उत्पादनयोग्य काठ कुहिने तथा धोद्रिने अवस्था रहे पनि स्वदेशी माग पूर्ति गर्न विदेशबाट काठ आयात गर्नुपर्ने अवस्था रहेको उहाँहरूको भनाइ छ।
