भैँसीको खरिदबिक्रीबाट फेरियो सलीमको जीवन, महिनामै ५० हजारसम्म नाफा
घोराही, (दाङ), २७ असोजः भैँसीको खरिद÷बिक्रीबाट सलीम खानले राम्रै व्यापार जमानुउनुभएको छ ।
उहाँको मुख्य पेसा भैँसीपालनसँगै व्यापार पनि हो । दाङ देउखुरी गढवा गाउँपालिका–५ चैनपुर निवासी खानको दैनिकी भैँसी व्यापारमा नै बित्ने गरेको छ ।
उहाँले यो व्यावसाय गर्न थालेको तीन दशक पुग्यो । । भैँसी खरिद गरेर दाङका विभिन्न ठाउँसँगै छिमेकी जिल्ला प्युठान, रोल्पा, अर्घाखाँची, गुल्मीसम्म बिक्रीका लागि लैजाने गर्नुहुन्छ । खानले छोरालाई पढाउनेदेखि घरखर्च चलाएर बचेको पैसाबाट करिव एक बिघा जग्गा खरिद गर्नु भएको छ ।
“मैले यस अवधिमा थोरै थोरै पैसा बचाउँदै एक बिघा जग्गा जोडेको छु”, उहाँले भन्नुभयोे, “अहिलेको बजार मूल्यअनुसार करिब उक्त जग्गा रु ३० देखि ३५ लाख मूल्य बराबरको छ ।” गाउँघरमा भैँसी खरिद गरी रोल्पा, प्युठान, अर्घाखाँचीदेखि गुल्मीसम्म पु¥याएर बेच्दै आउनुभएका खानले भैँसी व्यापारबाट गाउँमा एक बिघाभन्दा बढी जग्गा जोड्न सफल हुनुभएको हो ।
उहाँलाई व्यापारमा दुई छोराले मद्दत गर्दै आएका छन् । खानका छोरा समिरका अनुसार भैँसी व्यापार गर्दा राम्रो आम्दानी भइरहेको बताउनुहुन्छ । घरमै बसेर बुबासँगै काम गर्न पाउँदा उहाँलाई पनि खुसी लागेको छ । घरमा प्रायः सात÷आठ वटा भैँसी भइरहन्छन् । उक्त भैँसी व्यापारका लागि मौज्दातमा राखिएको हो ।
सलीमलाई भैँसी खरिद बिक्री गर्दा महिनामा रु ४० देखि ५० हजारसम्म नाफा हुने गरेको छ । “घरको मुख्य आम्दानीको स्रोत भनेकै भैँसी व्यापार हो, आम्दानी भएन भने कसरी गर्ने”, उहाँले भन्नुभयो, “आम्दानी राम्रै हुने गरेको छ ।”
उहाँका अनुसार दूध दिने भैँसी रु ५०÷६० हजारदेखि एक लाख ५० हजारसम्म बिक्री हुने गरेको छ । पहिलेको तुलनामा भैँसी पाल्ने मानिस घटे पनि भैँसीको मूल्य बढेका कारण आम्दानी राम्रै हुने गरेको उहाँ बताउनुहुन्छ ।
पहिले जग्गा जमिन नहुँदा व्यापार गर्न सजिलो होला भनेर गरेको व्यापारले जग्गा थप्दै गएको सलीम बताउनुहुन्छ । उहाँले १० वर्षअघि ‘समिर भैँसी फर्म’ दर्ता गर्नुभएको थियो । फर्म दर्ता नहुँदा जिल्ला बाहिर व्यापारका लागि जाँदा समस्या हुन थालेको भन्दै उहाँले भन्नुभयोे, “सुरुमा फर्म दर्ता थिएन, दर्ता नहुँदा जिल्ला बाहिर व्यापारका लागि जाँदा समस्या हुन थाल्यो ।”
फर्म दर्तापछि हाल भने समस्या समाधान भएको उहाँको भनाइछ । खासगरी घरमा दूध खानका लागि भैँसी किन्न चाहनेले सम्पर्क गर्ने गरेको उहाँ बताउनुहुन्छ । मागअनुसार घरसम्मै भैँसी पु¥याइदिने काम गर्ने गरेको उहाँले बताउनुभयो ।
कतिपय ग्राहक भने आफैँ घरमा आएर लैजाने गरेको उहाँको भनाइ छ । देउखुरी क्षेत्रको राजपुर गाउँपालिका र गढवा गाउँपालिका भैँसीपालनका लागि पकेट क्षेत्र भएकाले व्यापार गर्न सजिलो भएको उहाँ बताउनुहुन्छ । यहाँका अधिकांश किसान व्यावसायिक भैँसीपालन व्यवसायमा आवद्ध छन् ।
