निषेधाज्ञामा तरकारी आपूर्ति औसतभन्दा धेरै
काठमाडौं:
सामान्य अवस्थामा कालीमाटीमा दैनिक ७–८ सय टन तरकारी भित्रिने गरेकोमा निषेधाज्ञा शुरू हुनु अघिल्लो दिन र निषेधाज्ञाको दिन ९ सय टनभन्दा बढी तरकारी भित्रिएको थियो ।
त्यसैगरी शुक्रवार बेलुकासम्म ८ सय टन र शनिवार पनि यही परिमाणमा तरकारी भित्रिएको छ। यस वर्ष निषेधाज्ञाले तरकारी आपूर्ति असर नगरेको कालीमाटी तरकारी बजारका सूचना अधिकृत विनय श्रेष्ठले जानकारी दिए। ‘अहिले भित्रिरहेको तरकारीको परिमाण औसतभन्दा बढी हो,’ उनले भने ।
गतवर्ष बन्दाबन्दीको समयमा कालीमाटी तरकारी बजारमा तरकारीको आपूर्ति ५० प्रतिशतभन्दा बढीले घटेको थियो। सो अवधिमा दैनिक ३-४ सय टन मात्र तरकारी भित्रिने गरेको थियो ।
बजारमा आपूर्ति अनुसार नै तरकारीको खपत पनि भइरहेको छ। केही तरकारीको थोक बजार मूल्य भने यो साता घटेको पाइएको छ। कालीमाटी तरकारी बजारको दैनिक मूल्य सूची अनुसार एक सातामा भारतीय रातो आलुको मूल्य ५ रुपैयाँले घटेर प्रतिकिलो ३० रुपैयाँमा आएको छ ।
यस्तै नेपाली रातो आलुको मूल्य पनि किलोमा १५ रुपैयाँले घटेर ३५ रुपैयाँ कायम भएको छ। लोकल काँक्रोको मूल्य प्रतिकिलो ७० रुपैयाँमा यथावत् छ। स्थानीय काउलीको मूल्य पनि ८० बाट घटेर ४० रुपैयाँ, गाजरको मूल्य प्रतिकिलो २० रुपैयाँले घटेर ८० रुपैयाँ र कागतीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतिकिलो २ सय ५० रुपैयाँमा आएको छ ।
निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाबाट ५ लाखभन्दा बढी मानिस बाहिरिएकाले खपत घट्ने देखिएको व्यापारीहरूले बताएका छन् ।
