विदेशको जागिर छाडेर गाउँमा रमाउँदै अधिकारी

उन्नत जातका बाख्रा

तनहुँ।

भानु नगरपालिका–१२ स्थित घलेछाप निवासी ५० वर्षीय राजेन्द्र अधिकारी बहराइनमा होटलको राम्रो जागिर छाडेर गाउँमै व्यावसायिक पशुपालनतर्फ लाग्नुभएको छ । गाउँमै बसेर केही गरौँ भन्ने भावनाका साथ विगत तीन वर्षदेखि बोर र स्थानीय जातका बाख्रा, मौरीपालन तथा लोकल कुखुरा पालन गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

शुरुमा करिब रु १५ लाखबाट व्यवसाय थाल्नुभएका अधिकारीले अहिले करिब रु ७० लाख लगानी भइसकेको बताउनुभयो । हाल उहाँका खोरमा ११७ वटा बाख्रा छन् । मिर्लुङ्ग बहुउद्देश्यीय कृषिफार्म प्रालि दर्ता गरी किसान अधिकारीले भैँसीपालन तथा तरकारी खेतीसमेत गर्ने योजना बनाउनुभएको छ । बोर जातको उन्नत बोकाबाट स्थानीय जातको बाख्रामा क्रस गराएर ब्याडका रूपमा बोका उत्पादन गरी बिक्री गर्दै आएको उहाँ बताउनुहुन्छ ।

पाठो पाएपछि कम्तीमा तीन महिनापछि प्रतिकिलो रु ८०० मा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । ब्याड बोकाको माग राम्रो रहेकाले पु-याउन धौधौ हुने गरेको छ । उहाँले भन्नुभयो, “बोर जातको बाख्रा मासुका लागि छिटो बढ्ने हुँदा यसतर्फ किसानको आर्कषण बढ्दै गएको पाइन्छ ।”

स्थानीय जातको बाख्राको तुलनामा बोर जातको बाख्राको मासु दोब्बरले उत्पादन वृद्धि हुने हुँदा किसानले छोटो अवधिमा राम्रो मूल्य पाउन सक्नेछन् । शुरुशुरुमा प्रतिकिलो रु एक हजार १०० सम्म बिक्री गर्ने गरिए पनि अहिले रु आठ÷नौ सयमा बिक्री गर्दै आएको किसान अधिकारी बताउनुहुन्छ । तीन महिनाको पाठापाठी १५ किलोभन्दा माथिका हुन्छन् । दूध छुटेपछि पनि करिब २० दिन पालेपछि बिक्री गर्न लायकका हुन्छन् ।

शुरुमा बन्दीपु र, नुवाकोटबाट ब्याड बोका ल्याइए पनि अहिले आफैँले उत्पादन गरेको र रुकुम, स्याङ्जा, लमजुङ, चितवनलगायतका स्थानमा किसानले किनेर लैजाने गरेका छन् । बोर जातको बाख्रामा रोगसँग लड्न सक्ने क्षमता बढी हुने, पाल्न सजिलो हुने र छिटो वृद्धि हुने भएकाले किसानको यसतर्फ आर्कषण बढ्न थालेको हो ।

नेपालमा भन्दा बहराइनमा धेरै गुणा राम्रो आम्दानी रहे पनि स्वदेशमा बसेर स्वतन्त्र तरिकाले काम गर्ने चाहना भएकाले आफूले पशुपालन तथा कृषि पेशा अँगालेको उहाँले बताउनुभयो । आफ्नो र भाडामा गरी १२२ रोपनी क्षेत्रफलमा फार्म स्थापना गरिएको र करिब ३० रोपनी क्षेत्रफलमा विभिन्न जातका घाँस लगाइएको किसान अधिकारी बताउनुहुन्छ । फार्ममा अधिकारी परिवारसहित अन्य तीन कामदारले काम गर्दै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?