दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा सर्वसाधारण उपभोक्ता मारमा

चामल

फुङ्लिङ: ताप्लेजुङमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । कोरोना महामारीसँगै निषेधाज्ञा लागू भएपछि जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको हो ।

कोरोना भाइरसको सङ्क्रमण तीव्ररूपमा बढ्न थालेपछि सदरमुकाम फुङ्लिङमा गत वैशाख २० देखि जेठ २ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञापछि फुङ्लिङ बजार बन्द भएको र उपभोग्य वस्तु सहजरूपमा ढुवानी हुन छाडेपछि मूल्य आकाशिएको हो । फुङ्लिङ बजारमा अहिले चामल, दाल, खानेतेलजस्ता खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।

निषेधाज्ञा अघिसम्म जुनेली चामल ३० केजीको पोका रु एक हजार ७७५ सम्ममा पाइने अहिले रु दुई हजार पर्न थालेको छ । रु दुई हजार ६२५ पर्ने ५० केजी तौलको किसान चामलको पोकालाई रु तीन हजार पर्न थालेको छ । खानेतेल सूर्यमुखी आधा लिटरको पोकालाई रु १२५ पर्न थालेको छ भने तोरी तेलको पोकालाई रु १३५ पुर्‍याएको छ ।

यसरी नै मुसुरी दाललाई प्रतिकेजी रु १४५ सम्म पर्न थालेको छ । यही अनुपातमा हरेक दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको छ । यता स्थानीय व्यापारीले भने उपभोग्य वस्तुको मूल्य नै महङ्गिएको बताएका छन् । चामल र खानेतेलको मूल्य सबैभन्दा बढी वृद्धि गरिएको स्थानीय व्यवसायीको भनाइ छ । सामानको मूल्यसँगै निषेधाज्ञायता ढुवानी पनि वृद्धि गरिएको फुङ्लिङ बजारका व्यापारी दिनेश अधिकारीले बताए ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहेका अधिकारीले ढुवानी रकम प्रतिकेजी रु दुई वृद्धि गरी अहिले रु पाँच पुर्‍याइएको बताए। केही उपभोग्य वस्तुको मूल्यवृद्धि नभए पनि ढुवानी शुल्क वृद्धि भएकाले सोही अनुपातमा अहिले स्थानीय व्यापारीले महङ्गो मूल्यमा सामान बिक्री गर्नुपर्ने बाध्यता भएको अधिकारीको भनाइ छ ।

यता दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा सर्वसाधारण उपभोक्ता भने मारमा परेका छन् । सदरमुकाम र आसपासका सर्वसाधारण उपभोक्ता कोरोना महामारीका कारण बढी प्रभावित बनेका छन् । निषेधाज्ञापछि उनीहरूको ज्यालादारी पनि गुमेको र बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा समस्या खड्किँदै गएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?