गाँजा: बिगत,वर्तमान र भविश्य

परिचय : गाँजा एउटा प्राकृतिक बिरुवा हो। तोप,माल,चरेस,भाङ्ग,बाजा जे भनेर बोलाए नि हुने यो बिरुवाको पुरै भाग प्रयोगमा आउँछ। Cannabis sativa, Cannabis indica, Cannabis ruderalis जस्ता अङ्ग्रेजी नामले चिनिने गाँजा औषधी र मनोरञ्‍जनका लागि प्रयोग गरिन्छ।

इतिहास :विश्‍वमा गाँजाको इतिहास हेर्ने हो भने आज भन्दा करिब १०,००० वर्ष अगाडि ताइवानमा गाँजाको डोरीको प्रयोग गरेर भाडाकुँडा बनाउने गरिएको पाइन्छ। ‌एउटा प्रसिद्ध वैज्ञानिक कार्ल सागनले संसारमा सबैभन्‍दा सुरुमा खेती गरिएको बिरुवाहरु मध्य एउटा बिरुवा गाँजा भएको बताएका छन्।

त्यसैगरी हाम्रो हिन्दु धर्ममा गाँजालाई महत्त्वपूर्ण वुटिको रुपमा व्याख्या गरिएको छ। अथर्भ भेदमा संसारका पाँच महत्त्वपूर्ण बोटहरु मध्य एउटा बोट गाँजा हो भनिएको छ। आफ्नो मनको डर भगाउन र संसारमा सुख प्राप्‍तिका लागि गाँजाको सेवन गर्नु उच्‍चतम हो भनेर पनि लेखिएको छ। समुन्द्र मन्थनको बेला शिवले हलाहल विष खाएपछि उनलाई ठिक ठाउँमा लिएर आउन गाँजा खुवाइयो भनिन्छ भने परिवारमा झगडा परेर पृथ्वीमा आएर गाँजाको बोटमुनी सुतेका शिव निन्द्राबाट ब्युँझिएपछि यो के रहेछ भनेर गाँजा चाख्दा सुख प्राप्‍त भएको र तनाव मुक्‍त भएको मानिन्छ। त्यसैले शिवको मनपर्ने बोट गाँजा हो भन्‍ने धार्मिक आस्था छ।

१५औ शताब्दीतिर शैनिकहरुलाई लडाइ गर्न जानु अघि मनको डर भगाउन र शाहसी काम गर्न सकून भन्‍ने उद्देश्यका साथ गाँजा खुवाइन्थ्यो। १७औ शताब्दीतिर देखि गाँजालाई पेट दुख्‍दा,अपज हुदा,शैनिकहरु लडाइबाट फर्किएपछि दुखाइ कम गर्न औषधीको रुपमा प्रयोग गर्न थालियो। १९औ शताब्‍दीमा आइपुग्दासम्म नेपालमा गाँजालाई नगदेबालीका रुपमा बारा,पर्सा,सिराहा,धनुषा, महोत्तरीजस्ता जिल्लाहरुमा लगाउन थालियो।

पश्‍चिमा मुलुकमा सन् १९६०/१९७० को दसकतिर गाँजासेवनमा प्रतिबन्ध लगाइएपछि नेपाल हिप्पीहरुको लागि प्रख्यात भयो। नेपाल पश्‍चिमा देशका नागरिकको लागि घुम्‍न र गाँजामा रमाउनको लागि पहिलो रोजाईमा पर्थ्यो। त्यसरी आउने पर्यटनमा अमेरीकी पनि पर्थे। तर आफ्ना नागरिकहरुको सुरक्षाका लागि भनेर अमेरिकाले नेपालमा गाँजालाई अवैध घोषणा गर्न दबाब दियो। शक्ति राष्‍ट्रका अगाडि सरकारले नि आँखा चिम्लेर गाँजालाई अवैध घोषणा गरिदियो।

वर्तमान
नेपाल Single Convection of Narcotics Drugs 1961 को हस्ताक्षर कर्ता मुलुक हो। राष्ट्रसंघको नार्कोटिक्स बोर्डले गाँजालाई Heroine जस्तै हानिकारक लाघुऔषधको दर्जामा राखेको छ। आजको दिनसम्म आइपुग्दा नेपालमा गाँजा शब्दमात्रै पनि अपराध र गाँजा सेवन गर्नेलाई अपराधी मानिन्छ। हिजो हाम्रा हजुरवाहरुले पेट दुख्दा, अनिद्रा अपच हुँदा औषधीको रुपमा प्रयोग गर्ने गाँजा आज आएर लाघुऔषधको नाम दिएर बदनाम भएको छ। ३ पुस्ता परिवर्तन हुँदा गाँजाको परिभाषा नै फेरिएको छ। आज समाजमा गाँजा शब्दलाई एउटा अपशब्दको दृष्टिकोणले हेरिन्छ। गाँजा रोप्‍न प्रयोग,गर्न आयात र निर्यात गर्न पूर्णरुपमा बन्धेज लगाइएको छ।

विश्‍वमा गाँजाको अवस्था
गाँजालाई लाघुऔषधको रुपमा लिन नहुने तर्क UN ले नै पुष्‍टि गरिदिएको छ। गाँजा रक्सी चुरोटभन्दा अत्यन्त कम हानिकारक भएको कुरा विज्ञानले नै प्रमाणित गरिदिएको छ। अमेरिकामा करिव ११ वर्ष गरिएको अध्ययनले दुखाइ कम गर्ने अन्य ‍औषधी पेनकिलर भन्दा गाँजा प्रभावकारी देखिएको छ। गाँजाको महत्तव बुजेर पहिले अवैध घोषणा गरेका मुलुकले पनि अनुमति लिएर गाँजाको वैज्ञानिक रुपमा नै खेती गरेर आर्थिक रुपमा लाभ लिरहेका छन्।अर्जेन्टिना,बर्मुडा, क्यानडा, चिली, कोलम्बिया, डेनमार्क,जर्मनी ,ग्रीस, इजरायल, इटली ,माल्टा, नेदरल्याण्ड, न्युजिल्याण्ड ,नर्वे, पोल्याण्ड ,पोर्चुगल, स्विजरल्याण्ड ,उरुग्वे, जिम्बाबे आदि देशले गाँजालाई वैधानिकता दिएर मनग्य आमदामी कमाइ रहेका छन्। कोलोराडोले मात्र पछिल्लो ४ वर्षमा करिब $२४१ मिलियन कर उठाएको तथ्य सार्वजनिक भएको छ।

महत्तव र भविश्य
गाँजामा पाइने THC र CBD को अनुपात मिलाएर प्रयोग गर्ने हो भने धेरै फाइदा गर्छ। जटिल प्रकारका रोगको औषधी उत्पादन गर्न गाँजाको हिस्सा प्रयोग गरिन्छ। गाँजाको रेसा र बोक्राबाट बनेका कपडा र सजावटका सामानको पनि विश्‍व बजारमा उच्‍चतम मूल्यमा अधिकतम माग रहेको छ। अनिद्रा ,शारीरिक पिडा, आँखा सम्बन्धि रोग, अपचजस्ता रोगको उपचार गाँजा हो। त्यस्तै क्यान्सरका कोण मार्न र रक्सी तथा अन्य लाघुऔषधको लट छुटाउन पनि गाँजा उपयोगी हुने अनुसन्धानले देखाएको छ।

नेपाल प्राकृतिक रुपमा नै गाँजाको लागि उपयुक्त हावापानि भएको क्षेत्र हो। हिमाल देखि तराई र पहाडसम्म प्राकृतिक रुपमा नै गाँजा उम्रिने, हुर्किने र फल्ने चक्र चलि रहन्छ। प्राकृतिक रुपमा उम्रने गाँजा फडानीका लागि प्रहरी नै परिचालन गर्ने गरिएको छ तर त्यसैलाई वैधानिकता दिएर विश्‍वका समृद्भ मुलुकले आर्थिक लाभ लिरहेका छन्। सरकारले व्यापक रुपमा गाँजा खुलाएर यसको निर्यात गर्नुपर्छ र पर्यटन बिस्तार गर्नुपर्छ।

एउटा कुरा के स्पष्ट हुनु पर्छ भने गाँजा खुलाउने भन्दैमा किराना पसलमा किन्‍न पाइने हैन। गाँजाले वैधानिकता पाए किसानहरु सजिलै धनि हुन सक्छन् भने कलिला ओठमा जुँङ्गा रेखी बस्‍न नपाउँदै विदेशमा पसिना बेच्ने युवा वर्गले आफ्नै सितल धर्तिमा गाँजा फुक्दै करोडौं कमाउन सक्छन्। नेपाल सरकारले पसलहरुलाई लाइसेन्स दिएर वैधानिक रुपमा पर्यटकलाई दैनिक कोटामा बेच्न दिनुपर्छ। यस्तो गर्दा सबैजना गाँजा खाएर सडकमा लड्ने काम हुन दिनु हँदैन। कसिनोमा नेपालीलाई छिर्न नदिए झैँ नेपालीलाई नि गाँजा खान दिनु भएन। बिरामीलाई डाक्टरको सल्लाह अनुसार गाँजाको प्रयोग गर्न दिनुपर्छ। नेपालीलाई मनोरञ्‍जन गर्न गाँजा दिने नै भए छुट्टै गाँजा कार्ड बनाएर निस्चित पसलमा तथ्याङ्क सङ्कलन गरेर बेच्न दिनुपर्छ। अब कानुन बनाउँदा हचुवाको भरमा होइन एकदमै सोचेर जवाफ देहिता हुने गरि बनाउन पर्छ।

अझै कति बर्ष कति पुस्ताले दुख गर्ने? मलेसियाले काठ बेचेर.मोनाकोले कर छुट गरेर, ब्राजिलले रुख बेचेर, खाडिले तेल बेचर धनी भइसके। नेपाल पनि गाँजाको गेडा मात्र बेचेर धनि हुन सक्छ। नियमनको संरचना बनाएर सुरक्षित तरिकाले गाँजाको उत्पादन र प्रयोग गरे नेपालले पनि काँचुली फेर्ने थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments