‘तोरी जोन’ बनाउन सहकारी अभियान

झापा:

कृषिमा उर्वर जिल्लाको मेचीनगरलाई तोरी जोनका रुपमा विकास गर्न स्थानीय सहज महिला समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको उत्पादन, प्रशोधन र खेती प्रवर्द्धन कार्यक्रम अघि बढाएको छ ।

मेचीनगर–१० खयरडाँगीमा सो सहकारीले रु २० लाख ७० हजारको लगानीमा तोरी पेल्ने आधुनिक मेसिन स्थापना गरेको छ। संस्थाले वडा नं १०, १३ र १५ का किसानलाई तोरीखेतीमा लाग्न प्रोत्साहित गर्ने विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेको छ ।

“भूवनोटका आधारमा मेचीनगर तोरीखेतीका लागि अत्यन्तै उर्वर क्षेत्र हो, परम्परागतरुपमा किसानले गर्दै आएको तोरी खेतीलाई आधुनिक र व्यावसायिक बनाउने हाम्रो अभियान छ”, संस्थाका अध्यक्ष शारदा शर्माले भने, “धानखेती र मकै खेतीको बीच अवधिमा जग्गा बाँझो रहन्छन्, यही अवधिमा तोरीखेती हुने गरेको छ ।”

सहकारीले गाउँगाउँमा पुगेर किसानलाई सङ्गठित गर्ने र तोरीखेतीका लागि प्रोत्साहित गर्ने अभियान चलाएको छ। तोरी उचित मूल्यमा संस्थाले नै खरीद गरिदिने भएकाले किसान बिचौलियाको मारमा पर्दैनन्। गत वर्षदेखि नै संस्थाले किसानको तोरी किनेर प्रशोधन गर्ने र प्रशोधित गुणस्तरीय तोरीको तेल आफ्ना सदस्यलाई बिक्री वितरण गर्दै आएको छ ।

यसपाली कचनकबल र मेचीनगरका किसानको ३० क्विन्टल तोरी सहकारीले खरीद गरेको छ। नगरपालिका र कृषि ज्ञान केन्द्रसँग मिलेर संस्थाले किसानलाई तोरी उत्पादनसम्बन्धी तालीम प्रदान गरेको छ। आर्थिक वर्ष २०७७-०७८ मा तोरी उत्पादन प्रविधि तालीम, कृषकसँगको सम्झौता, पाँच बिघा जग्गा भाडा, अनुगमन तथा अवलोकनमा रु तीन लाख २० हजार ३०० खर्च गरेको अध्यक्ष शर्माले बताए ।

मेचीनगरको वडा नं १० मा तोरी पेल्ने मिल स्थापना गरेको संस्थाले उत्पादित तेललाई प्याकेजिङ तथा बोटलिङ गरी बजारमा समेत लैजाने भएको छ। तोरी पेल्ने मेसिन, बाली गोड्ने मेसिन, जेनेरेटर तथा पम्पिङ सेट मेसिन, डिप बोरिङ र मिनी टिलर गरी रु २० लाख ७० हजारको मेसिन गरी उपकरण खरीद गरिएको संस्थाले जनाएको छ। संस्थाको कार्यक्रम जनमुखी र प्रभावकारी भएको हुँदा नगरपालिकाले कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत यो संस्थालाई रु १४ लाख सःशर्त अनुदान दिएको छ ।

त्यसमा संस्थाले रु नौ लाख ९० हजार ३०० लागत सहभागिता थपेको जनाएको छ। व्यवसाय प्रवर्द्धन कार्यक्रमबाट स्थानीयरुपमा तोरी उत्पादन, प्रत्यक्ष रोजगारीको सिर्जना, आत्मनिर्भर लघु उद्यमशीलताको विकास र गरीबी न्यूनीकरणमा योगदान पुगेको वडा नं १० का वडाध्यक्ष सुदय पनेरुले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?