केराखेतीमा गवाँरो रोग लागेपछि किसान चिन्तित

केराखेतीमा गवाँरो रोग

गलेश्वर: हिमाली जिल्ला म्याग्दीका कृषकले गरेको व्यावसायिक केरा खेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन्। गत चैतमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पुर्याएको केरा खेती तङ्ग्रिन नपाउँदै पुनः रोग फैलिएपछि यहाँ केरा खेती गरेका कृषक चिन्तित बनेका हुन् ।

पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाको वडा नं २ खबरा, बगरफाँट, वडा नं ४ सिङ्गा, थामडाँडालगायत जिल्लाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा किरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेका वेनी नगरपालिका–२ बगरफाँटका कृषक दुर्गाबहादुर थापाले बताए ।

केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका–२ बगरफाँट गाउँमा खपटे घुन र गवाँरो रोगले सयौँ रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन्। केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्कीले केराका बोट नपसाउँदै सुक्न थालेपछि आफू चिन्तित भएको बताए। उनले सात रोपनी क्षेत्रफलको जग्गामा केराखेती गरेका छन् ।

खपटे घुनले केराको बोट सुक्दै जाने र उत्पादन पनि घट्दै गएपछि पेशा सङ्कटमा परेको कृषक कार्कीको भनाइ छ। यहाँका किसानले धान फल्ने खेतमा केराखेती शुरु गरेका हुन्। शुरुआती समयमा सामान्य देखिए पनि केही समयपछि भने खपटे घुन र गवाँरोले व्यावसायिक केराखेतीमा ठूलो क्षति पुर्याएको उनको भनाइ छ। बगरफाँट र खबरामा मात्रै ४०० रोपनी क्षेत्रफलमा केराखेती गरिएको छ। केरा बेचेर खबरामा वार्षिक रु ५० लाखभन्दा बढी भित्रिने गरेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?