प्रदेशकै उत्कृष्ट बन्दै कृषि फार्म

सर्लाही: बागमती नगरपालिका– ६ राजघाट पञ्चमुखी चोकमा रहेको घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी माछा फार्म प्रदेश नं २ कै उत्कृष्ट फार्मका रुपमा परिचित भएको छ ।

उनीहरुले राजघाटमा व्यावसायिक रुपमा करिब तीन वर्ष पहिला कृषि तथा पशुपक्षी माछा फार्म सुरु गरेका थिए। उनीहरुले अहिले करिब रु ५० लाखको लागतमा घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका छन् ।

अहिले उक्त फार्म करिब रु एक करोड ५० लाखको भइसकेको छ। करिब चार बिघा क्षेत्रफलमा आधुनिक तरिकाले फार्म बनाएर एक हजार लोकल र ब्रोइलर कुखुरा, ५३ राँगा पाल्न थालेका उनीहरुले १० हजार माछा पनि थपेका छन् ।

करिब ५० हजार माछा पाल्नका लागि पोखरी निर्माण गरी रहेको फार्मका सञ्चालक रामप्रसाद घिमिरेले बताए । उनीहरुले आफ्नो बगैँचामा विभिन्न प्रजातिका फलफूल तथा अमूल्य जडीबुटी र लोप हुन लागेका बिरुवा पनि लगाएका छन् ।

सुरुमा खर्च रकम धेरै लाग्ने डर रहेको भए पनि विस्तारै त्यो समस्या समाधान भएको र आफ्नो फार्म हेर्न आउने युवा नेपालमै बसेर केही गर्न सकिने रहेछ भन्ने मनसाय बनाएर फर्किने गरेका घिमिरेको भनाइ छ। जिल्लामै एक नमूना फार्म निर्माण सुरु गरेर चार घिमिरे दाजुभाइले प्रशंसनीय कार्य गरेका वडाध्यक्ष खड्गबहादुर राईले बताए ।

उक्त फार्म विस्तार गर्दै स्थानीय युवालाई स्वरोजगार बनाउने विषयमा नगरपालिकाले सकेको सहयोग गर्ने नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए। उनका अनुसार कृषिलाई आधुनिक तरिकाले गर्ने र युवालाई रोजगारी दिने उक्त फार्मको लक्ष्य पूरा गर्न आवश्यक सबै प्रकारका सहयोग गर्न नगरपालिका तयार छ। एउटै घरका रामप्रसाद घिमिरे, चेतन घिमिरे, सरोज घिमिरे र यामप्रसाद घिमिरेले मिलेर सो फार्म सञ्चालन गरेका हुन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?