जताततै लटरम्म स्याउ धेरै फलेपछि किसान खुसी

सिमकोट, भदौ २५ गते । सिमकोट गाउँपालिकाको प्रत्येक टोल र बस्तीमा जताततै फलेका स्याउका बोट मात्र देखिन थालेका छन् । यसपालि फाराममा स्याउ अचाक्ली फलेपछि यसरी स्याउ नै स्याउ देखिँदा किसान भने आम्दानी वृद्धि हुनेमा ढुक्कसँगै खुसी पनि देखिएका हुन् ।
पाँच भाइको सँगोलको फाराममा १५० बोट स्याउ लगाएर हाल फल्न थालेपछि सिमकोट गाउँपालिका ६ का सिंहबहादुर रोकाया निकै प्रसन्न देखिनुभएको छ । सुरुमा स्याउ खेती गर्दा दोधारमै लगाउनुभएका रोकायाले यसपालि फाराममा जताततै स्याउ मात्र फलेको देख्दा गरेपछि हुँदो रहेछ भन्ने लागेको बताउनुुभयो । हुन त रोकायाको फाराममा दुई वर्ष अगाडिबाट स्याउ फल्न थालेको भए पनि यसपालिजस्तो नफलेको र अब स्याउको भण्डारदेखि बिक्रीमा समस्या आउँछ कि भन्ने पिरलो हुन थालेको छ ।
गत वर्ष रोकायाको फारामबाट एक लाखभन्दा बढीको स्याउ बिक्री भएको र यसपालि सबै स्याउ बिक्री गर्न पाए कमाइमा निकै बृद्धि हुने उहाँले बताउनुुभयो ।
गाउँमा विरलै रूपमा एक वा दुई बोट स्याउ लगाउने गरिएको भए पनि चार वर्ष अगाडि ५० बोट स्याउ लगाउनुभएका सिमकोट गाउँपालिका ४ का जङ्गबहादुर शाहीले यसपालि स्याउ फलेको देखेर खुसी देखिनुभएको छ । गएको माघ महिनामा थप ४० बोट स्याउ नयाँ लगाउनुभएका शाही स्याउ खेतीबाटै आत्मनिर्भर हुनेमा ढुक्क देखिनुभएको छ । गत वर्ष ८० हजारको स्याउ बिक्री गर्नुभएका शाहीले यसपालि तेब्बर कमाइ हुने बताउनुुभयो । अहिले पनि शाहीलाई ५० हजार रुपियाँको स्याउ अर्डर आइसकेको छ ।

युवा बढी स्याउ खेतीमा
पछिल्लो समय युवा भविष्य राम्रो देखेरै होला स्याउ खेतीमा व्यावसायिक रूपमै लाग्न थालेका छन् । भूगोलका हिसाबले नेपालमै दोस्रो ठूलो (५५५६ वर्ग किलोमिटर) क्षेत्रफल भएको जिल्ला हुम्लामा स्याउ खेतीको प्रशस्त सम्भावना भएको क्षेत्रमा थरीथरीका जातको स्याउ खेतीबाट मनग्ये आम्दानी हुने देखेपछि परम्परागत खेती प्रणालीभन्दा युवा पुस्ता यसप्रति आकर्षित भएको उहाँले बताउनुुभयो । अर्को स्याउ बारीमा बहुखेती गर्न सकिने भएकाले यसप्रति सबैको चासो बढेको हो ।

कुन स्याउ फल्दैछन् ?
स्याउ धेरै किसिमका भए पनि हुम्लाका रेड, रेड डेलिसेस, गोल्डेन, गोल्डेन डेलिसेस, पिपिन र चक्लेटी स्याउ फल्ने गरेको सिमकोट गाउँपालिका कृषि शाखा प्रमुख बलबहादुर फडेराले बताउनुुभयो । हुम्लाको हावापानी सुहाउने स्याउका बिरुवाहरू अघिल्लो समयमा बैतडी, हेलम्बु, मुगु र जुम्लाबाट बिरुवा खरिद गरेर ल्याउने गरेको भए पनि पछिल्लो समयमा स्थानीय किसानले जिल्लामै उत्पादन गरेका बिरुवा सरकारी तथा गैरसरकारी निकायले बिक्री वितरण गर्ने गरेको उहाँले बताउनुुभयो । यस वर्ष किसानका बारीमा सबै प्रकारका स्याउ लटरम्म फलेको उहाँले बताउनुुभयो ।

खेतीका लागि योग्य जमिन
जिल्लामा स्याउ खेतीका लागि योग्य जमिन चार हजार ७३९ हेक्टर भए पनि हालसम्म स्याउ खेती गरिएको जमिन ५९० हेक्टर मात्र छ । व्यावसायिक स्याउ खेती गर्ने किसानको सङ्ख्या पछिल्लो समयमा बढ्दो क्रममा रहेको प्रमुख फडेराले बताउनुुभयो ।

खेती विस्तार हुँदै
एक/दुई बोट बारीको छेउमा लगाउने मानसिकतामा परिवर्तन आएर अहिले जिल्लामा पचास बोटभन्दा माथि स्याउ लगाउने किसानको सङ्ख्या २७५ जना भएको साविकको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यसमा ७५ प्रतिशत युवा सहभागिता रहेको कार्यालयले जनाएको छ । दुई÷चार बोट स्याउ लगाउने किसानको सङ्ख्या भने त्योभन्दा धेरै छ । यसअघि २०७३ सालसम्म कार्यालयले २३ हजार एक बोट स्याउ वितरण गरेको थियो ।

राजन रावत
www.gorkhapatraonline.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?