कृषिउपज केन्द्र निर्माण हुने भएपछि किसान उत्साहित

कृषिउपज केन्द्र

नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दुमा रु २४ करोड लागतमा कृषिउपज केन्द्र निर्माण हुने भएको छ । सङ्घीय सरकार र मध्यबिन्दु नगरपालिकाको लगानीमा नगरपालिकाको वडा नम्बर ७ चोरमारामा कृषिउपज केन्द्र निर्माण गरिने भएको हो ।

सङ्घीय सरकारको रु एक करोड ८८ लाख तथा थप रकम मध्यबिन्दु नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी कृषिउपज केन्द्र निर्माण गर्न लागिएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो । चार चरणमा गरेर निर्माण सम्पन्न हुने कृषिउपज केन्द्रको पहिलो चरणमा रु चार करोड बराबरको ठेक्का सम्झौता भइसकेको रानाले बताउनुभयो । व्यवस्थित बजार निर्माणको लागि नगरपालिकाको नमूना योजनाको रुपमा कृषिउपज केन्द्र निर्माण गरिने उहाँको भनाइ छ ।

चोरमारामा लाग्ने हाटबजारको वैकल्पिक व्यवस्थापन गर्दै सोही स्थानमा कृषिउपज केन्द्र निर्माण गर्न लागिएको हो । गत वर्ष कृषिउपज केन्द्र निर्माणका लागि काम सुरु गरिएको भए पनि हाट बजार व्यवसायीको विरोधको कारण काम अगाडि बढ्न सकेको थिएन । कृषिउपज केन्द्र निर्माण गर्दा कृषकका लागि मात्रै प्रयोग हुन्छ भन्ने हाट बजार व्यवसायीको बुझाइका कारण गत वर्ष काम सुरु गर्न कठिन भए पनि यस वर्ष उनीहरुलाई बुझाएर निर्माण काम सुरु गर्न लागिएको नगरप्रमुख रानाको भनाइ छ ।

हाट बजार व्यवसायीको माग त्यो स्थानमा कृषिउपज केन्द्र निर्माण गर्न नहुने र निर्माण गर्नै परे हाट बजारलाई पनि सोही स्थानमा व्यवस्थापन गर्नुपर्छ भन्ने रहेको वडाध्यक्ष अमृतप्रसाद ज्ञवालीले बताउनुभयो । कृषिउपज केन्द्र निर्माण गर्न चोरमारा–७ को नवजागरण नमूना प्राविको जमिनसमेत समेटेर दुई बिघा १४ कट्ठा जमिनमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेको वडाध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो । अब त्यहाँ अरु थप संरचना वा व्यवस्थापन गर्ने कुरा गाह्रो हुने भन्दै उहाँले हाट बजार व्यवसायीलाई अन्य तीन वटा विकल्प दिएको बताउनुभयो ।

कृषिउपज केन्द्र निर्माणका लागि पाइनस उपमा जेभी काठमाडौँसँग मध्यबिन्दु नगरपालिकाले २०७८ जेठ ३ गते ठेक्का सम्झौता गरेको छ । सम्झौताबमोजिम ठेकेदार कम्पनीले १२ वटा टहरा, एक वटा कृषिउपज सङ्कलन केन्द्र र कार्यालय भवन निर्माण गर्नेछ । विसं २०७९ जेठ १९ गतेसम्ममा सबै संरचना निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको नगरप्रमुख रानाले बताउनुभयो ।

मध्यबिन्दु नगरपालिकाको केन्द्रको रुपमा रहेको चोरमारा बजारमा निर्माण हुने कृषिउपज केन्द्रले नगरपालिकाभित्र उत्पादन भएका कृषि उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान गर्ने नगरप्रमुख रानाले बताउनुभयो । नगरपालिकाको पहाडी क्षेत्र तथा तराई क्षेत्रको विभिन्न स्थानमा उत्पादन हुने कृषि उत्पादनको एकीकृत सङ्कलन र बिक्री हुँदा त्यसको प्रत्यक्ष फाइदा कृषक, उपभोक्ता र व्यवसायी सबैलाई हुने रानाको भनाइ छ । नगरभित्र मौसमी तथा बेमौसमी ताजा तरकारी तथा फलफूलका साथै अन्य कृषिउपजको राम्रो उत्पादन हुने गरेको छ ।

कृषिउपज निर्माणसँगै नगरपालिकाभित्र व्यावसायिकरुपमा कृषि उत्पादनमा लाग्ने कृषकको सङ्ख्यासमेत बढ्ने नगरपालिकाको विश्वास छ । कृषिउपज केन्द्रजस्तै अन्य व्यावसायिक प्रयोजनको लागिसमेत एकीकृत योजना अगाडि बढाउन सकेको अवस्थामा थप व्यवसायी तथा उपभोक्तासमेत लाभान्वित हुने नगरवासीको भनाइ छ । (रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?