गोरु काटेर नगरकोट मासु ओसार्ने पाँच जना प्रहरी नियन्त्रणमा

गोरु काटेर नगरकोट मासु ओसार्ने पाँच जना प्रहरी नियन्त्रणमा

काठमाडौँ: उपत्यकाको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिका–३ धोक्साङमा गोरु काटेर मासु नगरकोटमा बेच्न लैजाने क्रममा पाँच जना पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकासँग सीमा जोडिएको यो स्थानमा चोरीको मोटरसाइकल प्रयोग भइरहेको सूचनाका आधारमा बुधबार बेलुकी नै महानगरीय प्रहरी प्रभाग साँखुबाट गएको प्रहरीले गोरुको मासु ओसारिरहेको अवस्थामा पाँच जना स्थानीयवासीलाई पक्राउ गरेको हो । धोक्साङबाट बा६७प ६६११ नं स्कुटीमा बोराका बोरा मासु लगिरहेका बेला प्रहरीले सोधखोज गरी घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको हो । गोरु काट्ने, मासु ओसार्ने र त्यसमा प्रयोग भएको स्कुटी पनि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

ठूलाठूला दुई गोरु काटेर मासु नगरकोट लैजाने व्यक्तिसहित त्यस घटनामा संलग्नलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा प्रितम तामाङ, मानबहादुर तामाङ, सन्तबहादुर तामाङ, रञ्जित थिङ र विजय घिसिङ रहेका छन् । घोक्साङका स्थानीयवासी तीनै जनालाई जिल्ला अदालत काठमाडौँमा पेस गरी अनुसन्धानका लागि चार दिनको समय लिइएको महानगरी प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश बस्नेतले राससलाई जानकारी दिए।

यसैबीच कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको असहाय गाई बाच्छा संरक्षण स्थलमा आश्रित गोरु काटेर टाउको गाडी मासु बेचेको अवस्थामा भेटिएको छ । असहाय गाईबाच्छा संरक्षण अभियानले यस विषयमा अनुसन्धानका लागि नगरपालिका र प्रहरीमा उजुरी गरेको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए।

संविधानमा राष्ट्रिय जनावर भनी सम्मान गरिएका गाईगोरु मासुका लागि काटिने, सडकमा छाडेर घाइते हुने, मारिने घटना बढ्दै जाँदासमेत सरोकार भएका सरकारी निकाय मुकदर्शक बनेको उनको भनाइ छ । अभियानले पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एक सय रोपनी क्षेत्रफलमा करिब दुई सय असहाय गाईबाच्छा संरक्षण गर्दै आएको छ । स्वयंसेवी रुपमा चलेको अभियानमा दाताले जन्मदिनलगायत विभिन्न अवसरमा सहयोग गर्दै आएका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?