अलैँचीको बजार मूल्यमा उत्साह

अलैँची

फुङ्लिङ: ताप्लेजुङमा गत हप्तादेखि नयाँ मुल्यमा अलैँची खरिद बिक्री सुरु भएको छ। अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत्साह थपेको हो ।

पछिल्ला केही वर्षयता अलैँचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस वर्ष सुरुमै सोचेभन्दा राम्रो मूल्य आएको बताइएको छ। केही हप्ता अघिदेखि स्थानीय बजारमा निस्कन थालेको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) रु ३२ देखि ३५ हजारसम्ममा कारोबार भइरहेको छ ।

हाल स्थानीय बजारमा कारोबार हुन थालेको मूल्य अपेक्षा गरेभन्दा राम्रो भएकाले अलैँची किसान तथा व्यवसायी दुवैलाई उत्साहित बनाएको हो। जिल्लाकै प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको नयाँ उत्पादनको मूल्य गत वर्षभन्दा यस वर्ष रु १२ देखि १४ हजार बढीमा कारोबार भएको सदरमुकाम फुङ्लिङ बजारका स्थानीयवासी व्यवसायी दिनेश अधिकारीले बताए ।

अधिकारीका अनुसार गत वर्ष नयाँ अलैँची बजारमा कारोबार हुन थाल्दा प्रतिमन रु २० देखि २२ हजार मात्र मूल्य थियो। यस वर्ष सुरुमा आएको अलैँची मूल्यले किसान तथा व्यवसायी दुवैलाई सन्तुष्ट बनाएको अधिकारीको भनाइ छ। फुङ्लिङ बजारकै अर्का व्यवसायी भद्र रेग्मीले पनि यस वर्षको अलैँची मूल्यले सधैँ निराशा खेप्दै आएका किसान तथा व्यवसायीलाई उत्साहित बनाएको बताए ।

विगतका वर्षमा प्रतिमन रु २० देखि २२ हजारमा कारोबार हुँदै आएको अलैँची यस वर्ष सुरुमै प्रतिमन करिब रु १५ हजार बढीमा कारोबार हुनु भनेको धेरै राम्रो मूल्य भएको व्यवसायी रेग्मीको भनाइ छ। यसरी सुरुमा नै राम्रो मूल्य आएकाले सिजनसम्म नै राम्रो मूल्य आउने जिल्लाका किसान तथा व्यवसायीले अपेक्षा राखेका छन्। यता यस वर्ष अलैँची उत्पादन भने ह्वात्तै घटेको किसानले बताएका छन् ।

अहिले औल क्षेत्रको अलैँची निस्कन थालेको र औल क्षेत्रमा विगतको तुलनामा आधाभन्दा धेरै उत्पादन घटेको फुङ्लिङ नगरपालिका–१ का किसान मकरजङ लिम्बूले बताए। लिम्बूका अनुसार यस वर्ष औल क्षेत्रमा सबैतिर अलैँची नफलेकाले उत्पादन घटेको छ। लेकाली क्षेत्रमा भने अलैँची फल राम्रै लागेको किसानले बताएका छन्। लेकाली क्षेत्रको अलैँची भने कात्तिकदेखि मङ्सिरसम्ममा निस्कने गर्दछ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?